सरकारको थिचाइ र क्रेताको बुझाइको मारमा ‘हाइब्रिड एसयूभी’

काठमाडौं । विश्वभर स्ट्रङ हाइब्रिड कारको माग उच्च छ । विशेषगरी युरोप, अमेरिका, जापान, चीन, अष्ट्रेलिया र भारत जस्ता देशमा हाइब्रिड कारको माग उच्च रहँदै आएको देखिन्छ ।

चीनमा प्लगइन हाइब्रिड र रेन्ज एक्सटेन्डेड इलेक्ट्रीक मोडलको माग उच्च रहँदा अमेरिका, युरोप र भारतमा स्ट्रङ हाइब्रिड मोडलको माग र बिक्री दुवै राम्रो छ । नेपालमा ब्याट्री इलेक्ट्रीक भेहिकलको बिक्री उच्च रहँदा हाइब्रिड कारको बिक्रीमा उत्साह नै छैन ।

नेपाल सरकारले लगाएको उच्च करको कारण हाइब्रिड कारले बजार पाउन नसकेको हो । ईभी अझै पनि परीक्षणकालीन समयमा रहेको र हाइब्रिड कारहरू सफल भइसकेको समयमा पनि प्योर पेट्रोल र डिजेल इन्जिन सरह नै कर हाइब्रिडमा लगाउँदा हाइब्रिड कार महँगो पर्न गएको हो ।

‘यदि, सरकारले केही छुट दिने हो भने हाइब्रिड कारहरू राम्रो संख्यामा बिक्री हुन्थ्यो । प्रदूषण कम, पेट्रोलियम पदार्थको खपत कम र थप इको सिस्टम निर्माणमा लगानी गर्नु नपर्ने भएको कारण हाइब्रिड कारहरू देशकै लागि उपयोगी हुन्छ,’ स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योतिले भने ।

सरकारले खर्च कम गर्ने कुरा गरिरहेको समयमा हाइब्रिड अहिलेकै पूर्वाधारमा चलाउन सक्ने भएकोले उपयोगी बन्न सक्ने टेक्नोलोजी हो । साथै, नेपालका बाटाहरू सबै स्थानमा ईभीले रामो पर्फमेन्स नगर्ने हुँदा हाइब्रिड प्रति सरकारले सकारात्मक दृष्टिकोण बनाउनु पर्ने ज्योतिको भनाइ छ ।

आयात निकै कमजोर

सन् २०२५ को जनवरीदेखि नोभेम्बर १५ तारिखसम्मको आयातलाई हेर्दा हाइब्रिड कारमा उपभोक्ताको चासो छैन भन्ने देखिन्छ । तुलनात्मक रूपमा धेरै बिक्री हुने सेग्मेन्टमै उपलब्ध हाइब्रिड एसयूभीको आयात ठप्प जस्तैछ ।

मित्सुबीसीले नेपाल ल्याएको आउटल्याण्डर प्लगइन हाइब्रिड मोडल २०२५ मा एक युनिट पनि आयात भएको छैन । ठूलो साइजको हाइब्रिड एसयूभी खोज्नेको लागि उपयोगी किया सोरेन्टो पनि यस वर्ष आयात भएको छैन । यसले बजारमा अलग पहिचान बनाएका मध्यम मूल्यका एसयूभी पनि हाइब्रिडमा बिक्री नभएको देखाउँछ ।

टोयोटाले नेपालमा सबैभन्दा धेरै हाइब्रिड कार बिक्री गर्छ । युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले सन् २०२५ मा र्‍याभफोर २४ युनिट, यारिस क्रस १९ र कोरोला क्रस १० युनिट आयात गरेको देखिन्छ । कम्पनीले सबै मिलाउँदा ५३ युनिट हाइब्रिड एसयूभी नेपाल ल्याएको हो ।

मारुती सुजुकीले भारतमा टोयोटासँगै सहकार्य गरेर बनाएको ग्राण्ड भिटाराको हाइब्रिड भर्सन ११ युनिट आयात गरेको देखिन्छ । जबकि प्रिमियम ब्राण्ड ल्याण्ड रोभरको डिफेन्डर हाइब्रिड मोडल ७ युनिट आयात भएको छ ।

जर्मन लग्जरी ब्राण्ड बीएमडब्लूले पछिल्लो दिनमा इलेक्ट्रीक मोडल रामो संख्यामा बिक्री गर्दै आएको छ । तर, उसले बिक्री गर्ने हाइब्रिडमा लामो सिरिज भए पनि केबल ‘एक्स फाइभ’ २ युनिट आयात भएको छ ।


Back_to_top