कम मूल्यका दुई कम्प्याक ह्याचब्याक, कुन किन्दा बढी फाइदा ?

काठमाडौं । बजारमा ह्याचब्याक कारमा पनि थुप्रै छनोट पाउन सकिन्छ । कुनै समय सबैभन्दा ठूलो बजार हिस्सा नै ह्याचब्याक कारको थियो । अहिले एसयूभी खोज्ने धेरै छन् ।

मूल्यका हिसाबले किफायती, ईभी भएको कारण सहरी क्षेत्रको उपयुक्त रेन्ज र फिचरको आधारमा फिचर लोडेड दुई कम्प्याक ह्याचब्याक अहिले बजारमा चल्तीमा छन् । यी दुई ह्याचब्याकको बीचमा लगभग मूल्य उस्तै छ ।

टाटा मोटर्सको सफल उत्पादन टियागो ईभी र केई मोटर्सको इक्युट ०४ ह्याचब्याक कम्प्याक्ट सेग्मेन्टमा एक अर्काका बलिया प्रतिस्पर्धी हुन् । टियागो भारतमा उत्पादन भएको मोडल हो भने केई चीनमा बनेको हो ।

टाटाले टियागो ईभी अपग्रेड पनि गरिसकेको छ । अपग्रेड भएसँगै टियागो ईभी फिचर लोडेड मोडलको रूपमा परिचय बनाउन सफल भइसकेको छ । नयाँ एलईडी हेडलाइट र डीआरएल, पृथक डिजाइनको फ्रन्ट ग्रिल, ड्युलटोन बडी कलर, हाइपर स्टाइल ह्वील, सार्कफिन एन्टेना, बडी कलर डोर ह्याण्डल जस्ता बाहिर देखिने फिचरले टियागो अब्बल देखिन्छ ।

अहिले साना ह्याचब्याक कार खोज्नेको रोजाइमा पर्दै आएको केईको इक्युट ०४ को सुन्दर डिजाइन धेरैले मनपराएका छन् । चिनियाँ निर्माताले टेक फिचरमा पनि कन्जुसाई नगरिकन काम गरेको छ । यसको फ्युचरिस्टिक डिजाइन, सेग्मेन्ट फस्ट फ्लस डोर ह्याण्डल, स्टाइलिस ह्वीलले खरिदकर्तालाई आकर्षित गर्न सफल हुन्छ ।

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो ईभी २ भेरियन्टमा उपलब्ध गराएको छ । यसको सुरूवाती भेरियन्टको मुल्य २७ लाख ४९ हजार रुपैयाँ छ भने टप भेरियन्ट किन्न २९ लाख ९९ हजार तिर्नुपर्छ ।

केई ब्राण्ड लक्ष्मी ग्रुप र गोल्छा समूहले बिक्री गर्दै आएको छ । दुई बिक्रेता रहे पनि लगभग यी दुवैको अप्रेसन मर्जर गरेर काम भएको देखिन्छ । इक्युट ०४ एउटा मात्रै भेरियन्टमा उपलब्ध छ । यसको मूल्य २५ लाख ९६ लाख तोकिएको छ ।

साइजमा कुन ठूलो ?

टाटा टियागो ईभी ३७८१ एमएम लामो, १६७७ एमएम फराकिलो र १५३६ एमएम अग्लो छ । जबकि इक्युट ०४ को लम्बाइ ३६९५ एमएम, चौडाइ १६८५ एमएम र उचाइ १६१५ एमएम छ ।

साइजलाई आधार मान्दा टियागो लम्बाइमा अगाडि छ । लगभग उस्तै चौडाइ भए पनि उचाइमा भने इुक्युट धेरै अगाडि देखिन्छ ।

ह्वीलबेसमा पनि इक्युट ०४ अगाडि देखियो । यसमा २५०० एमएम लामो ह्वीलबेस छ । टियागो ईभीमा २४०० एमएम लामो ह्वीलबेस छ । ग्राउण्ड क्लियरेन्समा टियागो राम्रो देखिन्छ । टियागो ईभीमा १७२ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहँदा इक्युट ०४ मा १६५ एमएम छ ।

बुट स्पेस दुवै कारको लगभग बराबर जस्तै छ । टियागोमा २४० लिटरको बुट स्पेश रहँदा इक्युटमा २३७ लिटरको बुट स्पेश पाउन सकिन्छ ।

मोटर र ब्याट्री

मोटरमा टाटा टियागो ईभी पावरफुल छ । यसमा ४८ किलोवाटको फ्रन्ट ह्वील मोटर छ । यसको पीकटर्क ११४ न्युटन मिटर छ । इक्युट ०४ मा ४० किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर नै छ । यसको पीकटर्क ११० न्युटन मिटर छ ।

ब्याट्रीमा भने ४ किलोवाटको फरक पाउन सकिन्छ । टियागो ईभीमा २४ किलोवाट आवरको ब्याट्री छ । जबकि इक्युट ०४ मा २८ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । दुवै ह्याचब्याक कारले डीसी फास्ट चार्जर सपोर्ट गर्नेछ ।

ब्याट्री ठूलोसँगै रेन्जमा पनि इक्युट ०४ अगाडि छ । यसले सिंगल चार्जमा २६० किलोमिटर रेन्ज दिन्छ भने टियागो ईभीले रियल वर्ड रेन्ज टेस्टमा २०५ किलोमिटर दिन्छ ।

क्याबिन कसको राम्रो ?

टाटाले आफ्नो फ्यामली ह्याचब्याक कारको क्याबिन प्रिमियम बनाउन कुनै कसर बाँकी राखेको छैन । ड्यासबोर्डमा १०.२५ इन्चको डिजिटल स्क्रीन, ७ इन्चको ड्राइभर इनफर्मेसन डिस्प्ले, प्रिमियम लाग्ने सिटहरूको प्रयोग गरेको छ ।

यसका अलवा टियागो ईभीमा रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, कुल्ड ग्लोभ बक्स, ४ वटा स्पीकर, ६ वे म्यानुअल ड्राइभर सिट, पोलिन फिल्टर, पुस बटम स्टार्ट जस्ता क्याबिन फिचर छन् । यसमा सीटी र स्पोर्टस् गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।

केई इक्युट ०४ मा ६.७ इन्चको एलसीडी टचस्क्रीन, ६.७ इन्चकै ड्राइभर इन्फर्मेसन डिस्प्ले, स्टेरिङ कोलुममा दिइएको गियर सिफ्टर, मल्टिफङ्सनल स्टेरिङ ह्वील पाउन सकिन्छ ।

निकै आरामदायी लाग्ने सिट प्रयोग भएको इक्युट ०४ मा ६ वे म्यानुअल एड्जस्टेबल ड्राइभर सिट, ६ वटा स्पीकर, स्पोट्स र इकनोमिक ड्राइभिङ मोड पाउन सकिन्छ ।

सुरक्षा फिचरमा कुन अगाडि ?

केई इक्युट ०४ मा ३६० डिग्री क्यामेरा पाउन सकिन्छ । अगाडि दुई एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अगाडि र पछाडि नै दिइएको पार्किङ सेन्सर, एबीएस, ईएसपी, ईबीडी, डीसीएस र ट्रयाक्सन कन्ट्रोल यसमा पाउन सकिन्छ ।

सुरक्षामा निकै राम्रो मानिने टाटा टियागो ईभीमा पनि अगाडि दुई एबीएस, ईबीडी, ईएसपी, एचडी रियर भ्यू क्यामरा विथ गाइड लाइन, हिल होल्ड कन्ट्रोल, क्रुज कन्ट्रोल जस्ता फिचर छन् ।

अन्त्यमा, यी दुवै राम्रा ह्याचब्याक कारको रूपमा बजारमा बिक्री हुँदै आएका छन् । भारतमा बन्ने र पहिला पेट्रोलमा पनि टियागो भएको कारण सडकमा पहिल्यैदेखि परिचित मोडलको रूपमा टियागो थियो ।

चीनमा बनेर आएको फरक डिजाइन, भित्रै निकै ठूलो स्पेस अनुभव गर्न पाइने इक्युट ०४ अघिल्लो वर्ष मात्रै नेपाल आएको हो ।


Back_to_top