चुनौतीको घेरामा चिनियाँ अटोमोबाइल उद्योग

चिनियाँ अटोमोबाइल क्षेत्रमा कम्पनीहरुको कमाइलाई लिएर चिन्ता ब्यक्त हुन थालेका छन् । सन् २०२५ को अन्तिम तिर आइपुग्दा खासगरी न्यू इनर्जी भेहिकल ब्राण्डहरुको आम्दानी खुम्चदा लगानीकर्ताहरुमै संसय पैदा भएको हो ।

चिनियाँ स्टार्टअप कम्पनीदेखि चल्तीका बीवाइडीसम्मका ब्राण्डको नाफामा संकुचन आएको छ । त्यसमाथि चीन सरकारले सन् २०२६ बाट क्रमशः अटोमोबाइल क्षेत्रमा उपलब्ध गराएको अनुदान कटौती गर्ने घोषणा गरिसकेको समयमा ठूला कम्पनीहरुको नाफामा थप गिरावट आउने पक्कापक्की छ ।

त्यसैले धेरै चिनियाँ लगानीकर्ताहरुको ध्यान सन् २०२६ मा अटोमोबाइल उद्योग कसरी अगाडि बढ्छ भन्ने विषयमा केन्द्रित भएको बुझ्न सकिन्छ । न्यू इनर्जी भेहिकलको ब्यवसायको विषय चीनको मात्रै रहेन । चिनियाँ उत्पादनबाट कडा चुनौती सामना गरिरहेका अन्य ब्राण्डले पनि यसलाई चासोका साथ हेरेका छन् ।

एडमन्ड डे रोथस्चाइल्ड एसेट मेनेजमेन्ट कोषका प्रबन्धक बिंग युआन भन्छन्, ‘सन् २०२६ को पहिलो क्वाटर कार निर्माताको लागि निकै चुनौतीपूर्ण हुनेछ । विशेषगरी लगभग दुई वर्षको राष्ट्रिय ट्रेड-इन र स्क्र्याप पोलिसीले नयाँ गाडीको बिक्रीमा उछाल आएको थियो । अब बिक्री केही स्लो हुने र प्राइसवारसँगै नाफा थप कमजोर हुने देखिन्छ ।’

पछिल्ला दिनमा सेयर बजारमा चिनियाँ अटोमोबाइल कम्पनीको सेयर मूल्यमा ठूलै गिरावट देखिएको छ । नाफा दिन नसक्ने कम्पनीमा लगानीकर्ताको चासो देखिदैन । एक्सपेङ, एलआई अटो र नियो जस्ता ब्राण्डको सेयरमा भारी गिरावट देखिएको हो ।

सन् २०२५ को ब्यापार योजनामा साओमी र लीपमोटरले मात्रै आफ्नो लक्ष्य भेट्टाउने भएका छन् । अर्को महत्वपूर्ण कुरा चीनमा यस वर्षको नोभेम्बर र डिसेम्बरमा बिक्रीमा उछाल आउने प्रक्षेपण थियो । तर, प्रक्षेपण अनुसार बिक्री भइरहेको तथ्यांक बाहिर आउन सकेको छैन । सन् २०२६ मा सरकारले दिएका छुट क्रमशः हट्दै जाने भएको कारण समग्र चिनियाँ कार बजार १३ प्रतिशतले खुम्चने प्रक्षेपण ब्लूमबर्ग इन्टेलिजेन्टले गरेको छ ।

सरकारी अनुदान हट्ने भएपछि कार निर्माताहरुले भविष्यको योजना बनाउन थालिसकेका छन् । जिलीले कर छुटको क्षतीपूर्ति वापत १५ हजार युआनको प्याकेज तयार गरेको छ । यस्तै काम लि अटो र शाओमीले पनि सुरु गरेका छन् ।

बढ्दो ब्याट्रीको लागतले बिक्रेताको मार्जिन खुम्चने छ । यस विषयमा एएफजी एसेस्ट मेनेजमेन्ट कम्पनीका फण्ड मेनेजर डेजी ली भन्छिन्, ‘कम्पनीहरुले प्राइसवारबाट टाढै बस्ने निर्णय लिएपनि आम्दानी बढाउने दबाब भने झेल्नै पर्ने हुन्छ ।’

चाइना इन्डस्ट्रीयल रिसर्च एजेन्सीका सह प्रमुख जियाओ फेङका अनुसार कम मूल्यका कार निर्माता बीवाइडी, जिली र लीपमोटर जस्ता कम्पनी धेरै डराउनु पर्ने अवस्थामा छैनन् । तर, महंगा गाडी निर्माताको लागि अगाडिको समय चुनौती पूर्ण हुनेछ ।’

फेङका अनुसार बीवाइडी, जिली र लीपमोटर चीन बाहिरको बजारमा आफ्नो प्रभाब हरेक वर्ष दोब्बर बनाउन सफल भएका छन् । त्यसले उनिहरुको कमाइमा राम्रो सहयोग गर्न सक्छ ।

चिनियाँ स्टार्टअप कम्पनीहरु कारको विकल्पमा थप योजना अगाडि सारिरहेका छन् । एक्सपेङले २०२६ को अन्तिमसम्ममा मावोइड रोवर्ट ठूलो परिमाणमा उत्पादन गर्ने योजना अगाडि सारेको छ । त्यस्तै लि अटोले पनि एआइमा आधारित रोर्वट बनाउने लक्ष्य लिएको छ ।

साउथ चाइना मर्निङ पोस्टको सहयोगमा


Back_to_top