काठमाडौं । भियतनामी इलेक्ट्रीक भेहिकल निर्माता भिनफास्टले अब भारतीय इलेक्ट्रीक स्कुटर बजारमा प्रवेश गर्ने भएको छ ।
हाल भारतमा चारपाँग्रे विद्युतीय सवारी उत्पादन गर्दै आएको कम्पनीले अब इलेक्ट्रीक स्कुटर पनि हात हाल्न लागेको हो ।
कम्पनीले भारतीय बजारमा इलेक्ट्रीक स्कुटरको बढ्दो मागलाई मध्येनजर गर्दै आफ्नो उपस्थिति जनाउन लागेको हो । कम्पनीले सन् २०२६ को दोस्रो त्रैमाससम्म भारतीय बजारमा नयाँ स्कुटर ल्याउने योजना रहेको जनाएको छ ।
भिनफास्टले केही महिना अघि मात्रै दुई इलेक्ट्रीक एसयूभी सार्वजनिक गर्दै भारतीय बजारमा प्रवेश गरेको थियो ।
भारत बाहेका केही एशियाली देशमा भने अहिले भिनफास्टका स्कुटर उपलब्ध छन् । ती देशमा भिनफास्टको भेन्टो, भेरो, थिओन, इभो, क्लारा र फेलिज मोडलका इलेक्ट्रीक स्कुटरहरू पहिलेदेखि नै उपलब्ध छन् । भारतीय बजारमा भिनफास्टको यिनै मोडलहरू सार्वजनिक हुने अनुमान गरिएको छ । कम्पनीले भने यस विषयमा कुनै पनि जानकारी बाहिर ल्याएको छैन ।
यी स्कुटरहरूमा हाई रेन्ज पर्फमेन्स प्रदान गर्ने पावरफुल इलेक्ट्रीक मोटर, अन्डर सिट स्टोरेज र डबल ब्याट्री अप्सनका साथै अन्य धेरै एड्भान्स फिचरहरू दिइएको छ । भारतीय बजारमा भिनफास्टको स्कुटरले बजाजको चेतक, टीभीएस आइक्यूब, एथर र ओलाका स्कुटरसँग प्रतिस्पर्धा गर्ने छ ।

