महासंघ बनाउने प्रस्तावसहित नाडाले बोलायो साधरण सभा

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)ले ४९ औं वार्षिक साधरण डाकेको छ ।

सोमबार (मंसिर १५ गते) बसेको नाडाको २४ औं केन्द्रीय कार्य समितिको बैठकले आगामी पुस ९ गते वार्षिक साधरण सभा बोलाउने निर्णय गरेको हो ।

बैठकले नाडालाई महासंघ बनाउने प्रस्ताव मुख्य एजेन्डाको रूपमा सभामा लैजाने निर्णय समेत गरेको छ । नाडाको ४९ औं वार्षिक साधारण सभा दी प्लाजा, ललितपुरमा हुनेछ ।

यसअघि नाडालाई महासंघ बनाउने प्रस्तावसहित गत भदौ २४ गते विशेष साधरण सभा बोलाएको थियो । तर, नाडाकै असन्तुष्ट पक्षले गैरकानुनी रूपमा विशेष साधरण सभा डाकिएको भन्दै उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उक्त विशेष सभा रोक्न निर्देशन दिएको थियो ।

अब नियमित वार्षिक साधरण सभाबाटै ५ दशकको लिगेसी भएको नाडालाई महासंघ बनाउन लागिएको हो । हाल नाडामा सवारी आयाकर्ता, बिक्रेता, स्पेयर पार्टस, टायर, लुब्रिकेन्ट लगायत व्यवसायी आबद्ध छन् ।


Back_to_top