काठमाडौं । टाटा मोटर्सले भारतीय बजारमा नयाँ नयाँ बडी डिजाइनको कारहरू ल्याउँदै आएको छ । केही वर्ष अगाडि माइक्रो एसयूभी सेग्मेन्टमा पन्च लन्च गरको कम्पनीले गत वर्ष अगस्टमा कुपे एसयूभी कर्भ ल्याएको थियो ।
बजारमा चलेका भन्दा फरक डिजाइनको कार ल्याउँदै आएको टाटाले आगामी वर्ष फेरि नयाँ सेग्मेन्टको एसयूभी लन्च गर्ने भएको छ ।
टाटाले सन् २०२६ मा स्पोर्टब्याक डिजाइनमा अभिन्या एसयूभी ल्याउने घोषणा गरेको हो । टाटाको अभिन्या स्पोर्टब्याक मोडलमा भारतमा उत्पादन हुने पहिलो एसयूभी हो ।
इलेक्ट्रीक पावरट्रेनमा आउने अभिन्या टाटा मोटर्सको प्रिमियम ब्रिटिस ब्राण्ड जागुवार ल्याण्डरोभरको वर्न इलेक्ट्रीक प्ल्याटफर्म इलेक्ट्रिफाइड मोडुलर आर्किटेक्चर (ईएमए) मा निर्माण गर्नेछ ।
टाटा मोटर्सको ग्लोबल डिजाइन हेड मार्टिन उहलारिकका अनुसार अभिन्या रेन्जका कारहरू स्पोर्ट्सब्याक डिजाइका ५ ढोके र स्पोर्टी लो स्लङ प्रोफाइलका हुनेछ । अभिन्या स्पोर्टसब्याकको डिजाइन फाइनलाइज भइसकेको र पहिलो मोडल अभिन्या रेन्जको ब्राण्ड बिल्डर हुनेछ ।

विश्व अटोमोबाइल बजारमा स्पोर्ट्सब्याक सानो युजर बेसमा मात्र लोकप्रिय रहेको छ । तर, टाटा मोटर्स भने यो डिजाइन भारतीय बजारमा उल्लेखनीय संख्यामा बिक्री हुनेमा विश्वस्त रहेको देखिन्छ ।
टाटाले प्रारम्भिक रूपमा वार्षिक २४ हजार युनिट अभिन्या ईभी उत्पादन गर्ने योजना बनाएको छ ।
हालै मात्र २ लाख ५० हजार युनिट इलेक्ट्रीक भेहिकल बिक्री गरेको टाटा मोटर्सले सन् २०२६ मा अभिन्याको साथमा सियरा र नयाँ पन्च ईभी लन्च गर्ने योजना सार्वजनिक गरिसकेको छ ।


