पेट्रोल स्कुटरमा होन्डा ‘मार्केट लिडर’, पछ्याउँदै टीभीएस

काठमाडौं । सन् २०२५ मा पेट्रोल स्कुटर आयातमा झिनो वृद्धि भएको छ । सन् २०२४ को तुलनामा यस वर्ष पेट्रोल स्कुटर आयात २.८ प्रतिशतले बढेको हो ।

सन् २०२५ (जनवरी-डिसेम्बर १५सम्म)मा नेपाली बजारमा ८० हजार ३२१ युनिट पेट्रोलबाट चल्ने स्कुटर भित्रिएको छ । यो गत वर्षको भन्दा २ हजार २४४ युनिट धेरै हो । सन् २०२४ मा ७८ हजार ७७ युनिट पेट्रोलबाट चल्ने स्कुटर भित्रिएको थियो ।

नेपालमा अहिले हिरो जुम, होन्डा डिओ, टीभीएस एनटर्क/जुपिटर, यामाहा रेजेडआर/एरोक्स र भेष्पा अप्रिलिया स्कुटर आयात हुँदै आएको छ ।

नेपालमा सन् २०२५ मा होन्डाले सर्वाधिक धेरै ३५ हजार ११८ युनिट होन्डा डिओ नेपाल भित्र्याएको हो । यो कुल आयातको ४३.७२ प्रतिशत धेरै हो । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकर ट्रेडिङले डिओ ११० र डिओ १२५ नेपालमा बिक्री गर्दै आएको छ ।

त्यस्तै, दोस्रो नम्बरमा रहेको टीभीएसले २३ हजार ५२० युनिट स्कुटर नेपाल भित्र्याएको हो । कुल आयातमा टीभीएसको हिस्सा २९.२८ प्रतिशत रहेको छ । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले एनटर्क र जुपीटर स्कुटर नेपालमा बिक्री गर्दै आएको छ ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू राइडले यामाहा रेजेडआर र एरोक्स गरी दुई मोडलका १५ हजार ४८५ युनिट भित्र्याएको हो । यसमा यामाहाको स्पोर्टी स्कुटर एरोक्सको संख्या ३० युनिट मात्र छ ।

त्यसैगरी, चौथो नम्बरमा रहेको हिरोले जुम स्कुटर ४ हजार ३५६ युनिट नेपाल भित्र्याएको छ । हिरोको मोटरसाइकल तथा स्कुटर सीजी मोटर्सले नेपालमा बिक्री गर्दै आएको छ । हिरो जुम ११० र १२५ गरि दुई मोडल नेपालमा बिक्री हुन्छन् ।

त्यसका अलावा पाँचौं नम्बरमा रहेका भेष्पा अप्रिलिया नेपालले १ हजार ५२० युनिट र प्युजोका १८ युनिट स्कुटर नेपाल आएको छ ।


Back_to_top