काठमाडौं । सन् २०२५ मा भारतीय बजारमा विद्युतीय कार (ईभी) बिक्रीमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो वर्षको तुलनामा ईभी बिक्री ७७ प्रतिशतले बढेको हो ।
सन् २०२५ मा भारतमा कुल १ लाख ७६ हजार ५३८ युनिट ईभी बिक्री भएको छ । यो हालसम्म कुनै पनि १ वर्षमा बिक्री भएको सबैभन्दा धेरै संख्या हो । अघिल्लो वर्षको तुलनामा सन् २०२५ मा ७६ हजार युनिट धेरै ईभी बिक्री भएको हो । सन् २०२४ मा कुल ९९ हजार ६९३ युनिट ईभी बिकेका थिए ।
भारतमा सन् २०२५ मा १७ ब्राण्डका ईभी बिक्री भएका हुन् । ईभी बिक्री बढे पनि कुल कार बजारमा हिस्सा भने अति न्यून छ । २०२५ मा ४५ लाख बढी कार बिक्दा ईभीको हिस्सा ४ प्रतिशतभन्दा कम रहेको हो ।
सन् २०२५ मा सर्वाधिक ईभी बेच्नेमा टाटा मोटर्स शीर्ष स्थानमा रहेको छ । समग्र सवारी बिक्रीमा तेस्रो स्थानमा रहेको टाटा ईभीमा पहिलो स्थानमा रहेको हो ।
१ वर्षमा टाटाले ६९ हजार ९५५ युनिट ईभी बिक्री गरेको छ । यो सन् २०२४ को तुलनामा १३ प्रतिशत धेरै हो । गत वर्ष टाटाले ६१ हजार ९५५ युनिट ईभी बेचेको थियो । टाटाको ईभी बिक्री बढे पनि बजार हिस्सा भने घटेर ३९ प्रतिशतमा सीमित भएको छ ।

टाटाका नेक्सन ईभी, टियागो ईभी र पंच ईभी चर्चित छन् । साथै, टाटाले सन् २०२५ मा बजारमा ल्याएको ह्यारीयर ईभीले धमाका पिटिरहेको छ । ह्यारीयर ईभीको वेटिङ पिरियड नै ७ महिना बढी पुगेको छ । कम्पनीले चाँडै सियरा ईभी समेत ल्याउँदै छ ।
दोस्रो धेरै ईभी बेच्नेमा जेएसडब्ल्यू एमजी मोटर इन्डिया रहेको छ । गत वर्षको तुलनामा एमजीको ईभी बिक्री झण्डै अढाई गुणाले बढेको छ ।
सन् २०२५ मा २१ हजार ८०१ युनिट ईभी बेचेको एमजीले यस वर्ष ५१ हजार ३७६ युनिट ईभी बेच्न सफल भएको हो । भारतीय ईभी बजारमा एमजीको हिस्सा २९.१० प्रतिशत छ ।
एमजीले विन्डर ईभी, एमजी जेड एस ईभी, एम ९, साइबरस्टर र कोमेट ईभी बिक्री गर्दै आएको छ । एमजीले यसै वर्ष समग्र ईभी बिक्रीको १ लाख माइलस्टोन पूरा गरेको थियाे ।

तेस्रो स्थानमा रहेको महिन्द्राले ईभी बिक्री साढे ४ गुणाले बढाएको छ । सन् २०२४ मा ७ हजार १५३ युनिट ईभी बेचेको महिन्दले यस वर्ष ३३ हजार ५१२ युनिट ईभी बिक्री गर्न सफल भएको छ । महिन्दको बजार हिस्सा १८.९८ प्रतिशत रहेको छ ।
महिन्द्राले सन् २०२५ मा आफ्ना दुई नयाँ ईभी बीई सिक्स र एक्सईभी नाइन ई बजारमा ल्याएको थियो । साथै चाँडै एक्सईभी ९ एस ल्याउने तयारी गरिरहेको छ ।
चौथो स्थानमा रहेको हुन्डाईले ६ हजार ७२६ युनिट ईभी बिक्री गरेको छ । सन् २०२४ को तुलनामा हुन्डाई ईभी बिक्री ६३७ प्रतिशतले बढेको छ । हुन्डाईले अघिल्लो वर्ष ९१३ युनिट ईभी बेचेको थियो । गत वर्ष बजारमा आएको हुन्डाईको क्रेटा ईभी निकै चर्चित छ ।

शीर्ष चारमा भारतमै उत्पादन हुने ब्राण्ड पर्दा पाँचौंमा भने चिनियाँ ब्राण्ड बीवाइडी परेको छ । विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले भारतमा ५ हजार ४०२ युनिट ईभी बिक्री गरेको छ । अघिल्लो वर्षको तुलनामा बीवाइडीको बिक्री ८८ प्रतिशतले बढेको छ । भारतमा बीवाइडीका एटो थ्री, सिल, ईम्याक्स ७ र सिलायन सेभेन मोडल बिक्री हुँदै आएको छ ।
त्यसैगरी, बीएमडब्लू ३ हजार १९५ युनिट, किया २ हजार ७३१ युनिट, मर्सिडिजबेन्ज १ हजार १६८ युनिट, स्टेलान्टिस ८७१ र भोल्भो ३८९ युनिटसहित क्रमशः शीर्ष दश भित्र रहेका छन् ।

