काठमाडौं । विश्वभर तीव्र प्रतिक्षामा रहेको सोलिड स्टेट ब्याट्री प्रयोग गरेर एफएडब्लू ग्रुपले पहिलो कारको प्रोटोटाइप सार्वजनिक गरेको छ । चिनियाँ अटोमोबाइल्स ग्रुप एफएडब्लूले होङकी ब्राण्डमा सोलिड स्टेट ब्याट्री प्रयोग गरेको हो ।
‘होङकी टियाङगोङ-०६’ मोडलको प्रोटोटाइप छ दिन अगाडि डिसेम्बर ३१ तारिखमा कम्पनीले सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार यसमा अल सोलिड स्टेट ब्याट्रीको प्रयोग भएको छ ।
उच्च इनर्जी डेनसिटी रहने सोलिड स्टेट ब्याट्रीको ऊर्जा घनत्व र ड्राइभिङ रेन्जका विषयमा कम्पनीले कुनै जानकारी बाहिर ल्याएको छैन । कम्पनीले नयाँ ब्याट्री टेक्नोलोजीले ऊर्जा घनत्व वृद्धि र धेरै रेन्ज दिने मात्रै उल्लेख गरेको छ ।
अहिले परीक्षण सुरू भएको ब्याट्री विकासमा प्रयोग भएका सामाग्री, ब्याट्री सेलहरू, यसको निर्माण प्रक्रिया र इन्जिनियरिङ चुनौतीहरू अझै धेरै बाँकी रहेको होङकीले जनाएको छ ।

‘४७० दिनको गहन अध्ययन/अनुसन्धानपछि सल्फाइड इलेक्ट्रोलाइट्स, १० एम्पियरको सेलको प्रदर्शनी र ६० उम्पियर सेलको उत्पादमा सफलता हातलागेको छ,’ होङकीले भन्यो ।
अहिले कम्पनीले ल्याएको प्रोटोटाइप हाइ भोल्टेज मोड्यूल इन्क्याप्सुलेसन र कम तौलको सिस्टमसँग जोडिएको छ । जसले भोलिका दिनमा ‘मास प्रोडक्सन’लाई सहयोग गर्नेछ ।
सोलिड स्टेट ब्याट्रीको धेरै कुरा बाहिर नल्याए पनि यसले सिंगल चार्जमा १००० किलोमिटर आसपास रेन्ज दिने अनुमान छ ।

