काठमाडौं । सन् २०२६ लागेसँगै नेपाली बजारमा चल्तीका दुई ब्राण्डले नयाँ मोटरसाइकल ल्याएका छन् । चल्तीका ब्राण्ड यामाहा र बजाजले नयाँ मोटरसाइकल बजारमा उतारेका हुन् ।
यामाहाले एफजेडएफ हाइब्रिड मोडलको बिक्री थालेको छ । बजाजले भने आफ्नो लोकप्रिय मोटरसाइकल पल्सर २२० एफको परिष्कृत मोडलको बुकिङ खुला गरेको हो ।
दुवै ब्राण्डले बजारमा ल्याएका विल्कुलै नयाँ मोडल भने होइनन् । यसअघि नै बजारमा उपलब्ध मोडलमा ठूलो परिमार्जन सहित आएको भने हो ।
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइडले एफजेडएफ हाइब्रिड मोडलको बिक्री थालेको छ ।
हाइब्रिड टेक्नोलोजी भएको एफजेडको डिजाइन र इन्जिन पुरानै छ । तर, कम्पनीले केही फिचरहरू भने थप गरेर ल्याइएको हो । यामाहा एफजेडएसमा १४९ सीसी सिंगल सिलिण्डर एफआई इन्जिन छ । उक्त इन्जिनले १२.४ पीएस पावर र १३.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

एफजेडको हाइब्रिड मोडलमा ४.२ इन्च टीएफटी कलर डिस्प्ले, स्मार्ट कनेन्ट फिचर, टर्न वाइ टर्न नेभिगेशन, ट्रयाक्सन कन्ट्रोल लगायत नयाँ फिचरहरू थप गरिएको छ । यस मोडलमा स्टार्ट एन्ड स्टप सिस्टम समेत उपलब्ध छ । यसले साइलेन्ट स्टार्टमा मद्दत गर्छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाशचन्द एण्ड कम्पनीले निकै लोकप्रिय मोटरसाइकल पल्सर २२० को अपडेटेड भर्सनको बुकिङ खुला गरेको हो ।
अपडेट गरिएको पल्सर २२० एफमा नयाँ ग्राफिक्स डिजाइन र दुई नयाँ कलर अप्सन पाइन्छ । यसले २२० एफलाई रिफ्रेस लुक्स प्रदान गरेको छ ।
पल्सर २२० एफमा ब्लूटुथ इनेबल्ड पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर छ । यसमा टर्न बाई टर्न नेभिगेसन, कल एसेप्ट र रिजेक्ट, मिस कल, एसएमएस अलर्ट जस्ता सुविधा थपिएको छ ।
यसको अगाडि टेलिस्कोपिक एन्टी फ्रिक्शन बुश सस्पेन्सन र पछाडि ५ स्टेप नाइट्रोक्स शक अब्जर्बार, एलईडी लाइट, स्ट्यान्डर्ड एलईडी इन्डिकेटर्स, अलोय ह्वील, ट्युबलेस टायर र डबल डिस्कब्रेक पाउन सकिन्छ ।

बजाज पल्सर २२० एफमा कुनै मेकानिकल परिवर्तन गरिएको छैन । यसमा पुरानै २२० सीसीको एयर र आयल कुल्ड, ट्विन स्पार्क, एफआई डीटीएसआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम २०.४ पीएस पावर र १८.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्टेपको गियरबक्स छ ।
मूल्यमा कडा प्रतिस्पर्धा हुन सक्ने
विल्कुलै पृथक डिजाइन र फरक इन्जिन पावर भएका यी दुई मोटरसाइकलमा मूल्य भने कडै प्रतिस्पर्धा हुने खालको छ । यामाहाको एफजेडएस हाइब्रिड मोटरसाइकलको मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ तोकेर बिक्री थालिएको छ ।
जबकि बजाजले पल्सर २२० एफको मूल्य अहिलेसम्म बाहिर ल्याएको छैन । सम्भवतः कम्पनीले यसको मूल्य ४ लाख ४० हजार हाराहारी राखेर बिक्री सुरू गर्नेछ ।

