लग्जरी इलेक्ट्रीक सेडानमा छैनन् खरिदकर्ता, कुन ब्राण्डले कति ल्यायो ?

काठमाडौं । मूल्यका हिसाबले ७० लाख रुपैयाँभन्दा माथि पर्ने इलेक्ट्रीक सेडान कारको बजार निकै कमजोर देखिएको छ । नेपाली बजारमा टेस्ला, बीवाइडी, पोर्शे, दीपल जस्ता ब्राण्डले प्रिमियम सेडान कार बिक्री गर्दै आएका छन् ।

बढ्दो एसयूभी क्रेजसँगै नेपालमा निकै आरामदायी मानिने सेडान कारको बजार घट्दै गयो । अहिले विशेष प्रयोजनको लागि बाहेक सेडान कारको बिक्री नगन्य हुन थालेको छ । ट्याक्सी र टुरिजम सेक्टरका केही क्षेत्रले भने अहिले पनि सेडान कार खोज्ने गर्छन् ।

नेपाली बजारमा उपलब्ध सबैभन्दा प्रिमियम सेडान कार पोर्शे टाइकन फोर एस मोडल हो । यसलाई आयातकर्ताले १ करोड ७० लाख आसपास मूल्यमा बिक्री गरेको थियो । सन् २०२५ मा ७ युनिट टाइकन फोर एस नेपाल ल्याएको देखिन्छ ।

नेपाली बजारमा सबैभन्दा धेरै आयात भएको टेस्ला मोडल थ्री हो । अमेरिकी कार निर्माताको लग्जरी मोडल नेपालमा निकै चर्चा पाउन सफल मोडल हो । तर, बिक्री भने अन्तर्राष्ट्रिय बजारको दाँजोमा निकै कम छ । टेस्ला मोडल थ्री सन् २०२५ मा १९ युनिट आयात भएको देखिन्छ ।

हाम्रो बजारमा ईभीमा सबैभन्दा सफल ब्राण्ड बीवाइडीको प्रिमियम स्पोर्टी सेडान सिलको पनि बिक्री एकदमै कम छ । कम्पनीले सिल सेडान विभिन्न ३ भेरियन्टमा आयात गर्दै आएको छ । एटो वान, एटो टु, डल्फिन, एटो थ्री जस्ता सफल मोडल बजारमा बिक्री गर्दै आएको बीवाइडीले सन् २०२५ मा केबल १ युनिट सिल सेडान ल्याएको छ ।

प्रिमियम र लग्जरी कार ब्राण्ड ज्यागुअर ल्याण्डरोभरले बनाएको प्रिमियम मोडल आइपेस मोडल पनि एक युनिट आयात भएको छ । अहिले आइपेसको उत्पादन नै बन्द भइसकेको छ ।

मूल्यका हिसाबले सस्तो भए पनि फिचर र चढ्दा पाइने लग्जरीको आधारमा दीपल एल-०७ लाई पनि आकर्षक सेडान मान्न सकिन्छ । सन् २०२५ मा सबैभन्दा धेरै आयात पनि एल-०७ सेडानकै भएको छ । एक वर्षको अवधिमा २० युनिट एल-०७ आयात भएको देखिन्छ ।


Back_to_top