जनवरीमा नेपाल भित्रिए झण्डै ११०० कार, कुन ब्राण्डका कति ?

फाइल तस्बिर ।

काठमाडौं । सन् २०२६ को पहिलो महिना नेपाली अटोमोबाइल क्षेत्र केही सुस्त देखिएको छ । यो महिना औसतभन्दा केही कम प्यासेन्जर कार आयात भएका हुन् ।

पछिल्लो समय नेपालमा औसतमा मासिक १२०० युनिट हाराहारीमा प्यासेन्जर कार आयात हुँदै आएकोमा जनवरीमा १०९३ युनिट कार आयात भएको हो । यो संख्या विद्युतीय र कम्बस्चन कार दुवैको संख्या हो । कुल कार आयातमा झण्डै दुईतिहाई हिस्सा विद्युतीय कारको रहेको छ ।

भन्सार तथ्यांक अनुसार सन् २०२६ को जनवरीमा २५ ब्राण्डका कार नेपाल भित्रिएका हुन् । जनवरीमा सबैभन्दा धेरै टाटा ब्राण्डका कार आयात भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २५३ युनिट कार ल्याएको छ । जसमा अधिकांश विद्युतीय छन् । नेपालमा टाटाका पन्च ईभी, टियागो ईभी, टिगोर (एक्सप्रेस टी) ईभी, नेक्सन केथ्री ईभी र कर्भ ईभी उपलब्ध छन् ।

जनवरीमा दोस्रो धेरै महिन्द्रा ब्राण्डका कार आयात भएको छ । नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले १३२ युनिट कार नेपाल ल्याएको छ । कम्पनीले महिन्द्रा स्कर्पियो, महिन्द्रा बोलेरो, एक्सईभी नाइन ई, बीई सिक्स ईभी लगायत कार आयात गर्दै आएको छ ।

तेस्रो धेरै बीवाइडी ब्राण्डका कार आयात भएको छ । साइमेक्स इंकले जनवरीमा ११७ युनिट ईभी ल्याएको छ । कम्पनीले नेपालमा बीवाइडीका एटो वान, एटो टु, एटो थ्री, डल्फिन, सिलायन सेभेन लगायत मोडल बिक्री गर्दै आएको छ ।

जनवरीमा चौथो धेरै चेरीको सबब्राण्ड आइकारका एसयूभी भित्रिएका छन् । चेरी अटोमोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले जनवरीमा १०० युनिट आइकार भी २३ एसयूभी नेपाल ल्याएको छ ।

पाँचौं धेरै आयात हुनेमा डोङफेङ रहेको छ । जनवरीमा एमएडब्लू वृद्धिले डोङफेङ ब्राण्डका ८० युनिट कार नेपाल ल्याएको छ ।

त्यस्तै, छैटौंमा दीपल ब्राण्डका कार भित्रिएका छन् । एमएडब्ल्ू वृद्धिले जनवरीमा दीपलका ८० युनिट कार नेपाल ल्याएको छ । कम्पनीले नेपालमा दीपल एस ०५ र एस ०७ एसयूभी बिक्री गर्दै आएको छ ।

सातौंमा हुन्डाईका ७८ युनिट कार आयात भएको छ । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले तयारी र अनएसेम्बल गरी ७८ युनिट कार नेपाल ल्याएको हो । कम्पनीले क्रेटा र भेन्यु नेपालमै उत्पादन गर्दै आएको छ।

त्यसैगरी, जनवरीमा कियाका ६१, सुजुकीका ६०, जेएमईभीका २५, निसानका २०, इसुजुका २०, जिलीका १७, फक्सवागेनका १३ र ओराका १० युनिट कार आयात भएको छ ।

त्यस्तै, टोयोटा ८, स्कोडा ८, लीपमोटर ७, ल्यान्ड रोभर ६, जुनियो ६, अउडी २ र फोर्ड, माज्दा, एलएस अटो र ज्यागुअरको १/१ युनिट कार आयात भएको छ ।


Back_to_top