काठमाडौं । समुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्ने विश्वकै लामो ८१.०४१ किलोमिटर नयाँपुल-मुक्तिनाथ केबलकार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदनको मस्यौदा तयार भएको छ ।
इन्भाइरोन्मेन्टल एण्ड साइन्टिफिक सर्भिसेज तयार पारेको प्रतिवेदनको मस्यौदा वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको हो ।
मन्त्रालयले ७ दिनभित्र सम्बन्धित सरकारी निकाय, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, स्थानीय बासिन्दाहरूसँग ईआइए प्रतिवेदन बारे सुझाव समेत मागेको छ ।
ईआइए प्रतिवेदन अनुसार पर्वतको शेराफाँटदेखि मुस्ताङको रानीपौवासम्म ८१.०४१ किलोमिटर लामो केबलकार निर्माण हुनेछ । उक्त दुरी पार गर्न ३ घण्टा ३६ मिनेट समय लाग्नेछ ।
४४२ टावर रहने उक्त केबलकारमा २० वटा स्टेसन र ८७१ गोण्डोला रहने प्रस्ताव गरिएको छ । उक्त केबलकार निर्माण गर्न ५३ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । २०८२ जेठ २२ गते बसेको लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृति समेत गरिसकेको छ ।
आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न १८ महिना लाग्नेछ भने केवलकार निर्माण गर्न ३ वर्ष लाग्ने अनुमान छ। यो केबलकार संचालनका लागि १३ मेगावाट बिजुली आवश्यक पर्नेछ।
मुक्तिनाथ दर्शन प्रालि वि. सं. २०५४ असार २ गते दर्ता भएको कम्पनी हो । यसको अधिकृत पुँजी ८५ करोड रुपैयाँ र जारी पुँजी २० करोड रुपैयाँ छ।
२७१ हेक्टर जग्गा आवश्यक
ईआइए प्रतिवेदन अनुसार केबलकार निर्माणका लागि कुल २७१.७५ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमा टावर निर्माण गर्न ३.८६० हेक्टर, स्टेसन बनाउन ३४.३१४ हेक्टर र राइट अफ वेका लागि २३३.५७६ हेक्टर जग्गा आवश्यक पर्नेछ ।
आयोजनालाई आवश्यक पर्ने जग्गा संरक्षित क्षेत्र, सामुदायिक वन क्षेत्र र निजी रहेको छ । आयोजनाका लागि अन्नपूर्ण संरक्षण क्षेत्रको २१८.६७ हेक्टर वन क्षेत्र, १.८५ हेक्टर सामुदायिक वन क्षेत्र र ५१.५ हेक्टर निजी जग्गा आवश्यक पर्नेछ ।
केबलकार निर्माणका लागि एउटा रुख काटेको बदलामा २५ वटासम्म विरुवा रोप्ने प्रस्ताव गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र एक रुख बराबर २५ वटा र राष्ट्रिय वनमा एक रुख बराबर १० विरुवा रोपिने छ । साथै, ती विरुवा ५ वर्षसम्म आयोजनाले नै हेरचार गरी हुर्काएर सम्बन्धित निकायलाई हस्तान्तरण गरिने छ ।
३४ घरधुरी विस्थापित हुने
प्रतिवेदन अनुसार केबलकार निर्माण गर्दा कुल २२९ घर प्रभावित हुनेछन् । जसमा ३४ घरधुरी भौतिक रुपमा विस्थापन हुने देखिएको छ । उनीहरूलाई अहिले बसोबास गरिरहेको ठाउँबाट अन्यत्रै सानुपर्नेछ ।
केबलकार संचालनमा आएपछि ४३५ जनाले प्रत्यक्ष रोजगारी पाउने छ भने निर्माणको क्रममा १ हजार ७६५ जनाले रोजगारी पाउने छन् ।
मुक्तिनाथ केबलकार निर्माणपछि वार्षिक ३६ लाखले अर्थात् दैनिक १०यात्र गर्ने कम्पनीको अनुमान छ । ठूलो संख्यामा नेपाली तथा भारतीय तीर्थयात्रीहरू केबलकार हुँदै मुक्तिनाथ पुग्ने अपेक्षा गरिएको छ ।

