काठमाडौं । फ्रान्सको चर्चित फ्युरियन मोटरसाइकल कम्पनीले विश्वकै पहिलो हाइब्रिड अल ह्वील ड्राइभ (एडब्लूडी) मोटरसाइकल ल्याउने भएकाे छ ।
कम्पनीले यामाहाको लोकप्रिय सुपर बाइक एमटी ७ मा आधारित पहिलो हाइब्रिड अल ह्वील ड्राइभ सिस्टममा नयाँ मोटरसाइकलको प्रोटोटाइप सार्वजनिक गरेको हो ।
कम्पनीले यो मोडललाई ‘एम टु’ नाम दिएको छ । हालसम्म अल ह्वील ड्राइभ सिस्टम कारहरूमा मात्रै प्रयोग हुँदै आइरहेको छ । मोटरसाइकलमा यो पहिलो एड्भान्स प्रविधि हो ।
कम्पनीले प्रोटोटाइप मोडलका रूपमा सार्वजनिक गरेको ‘एम टू’ नयाँ मोटरसाइकलमा पछाडि पेट्रोल इन्जिन र अगाडि इलेक्ट्रीक मोटर जडान गरिएको छ । जसले दुवै टायरमा पावर जेनेरेट गर्छ । त्यसैले एम टू अल ह्वील ड्राइभ भएको हाइब्रिड मोटरसाइकल हो ।
सामान्यतया मोटरसाइकलमा पछाडिको टायरले मात्र पावर जेनेरेट गर्छ । तर एम टूमा पेट्रोल र इलेक्ट्रीक दुवै स्रोतको संयोजनमार्फत अगाडि र पछाडि दुवै टायरमा पावर जाने व्यवस्था गरिएको छ । इलेक्ट्रीक मोटरले अगाडि टायरमा पावर दिन्छ भने पेट्रोल इन्जिनले रेगुलर जस्तै पछाडि टायरमा पावर दिने काम गर्छ । यसले राम्रो ग्रिप, उच्च नियन्त्रण र करिब १०० हर्सपावर बराबरको संयुक्त पावर प्रदान गर्ने कम्पनीको दाबी छ ।

यो मोटरसाइकलमा ६८९ सीसीको प्यारेलेल-ट्विन पेट्रोल इन्जिन छ । जसले ७० भन्दा बढी हर्सपावर जेनेरेट गर्छ । यसको अगाडिको टायरमा जडान गरिएको इलेक्ट्रीक मोटरले थप २० भन्दा माथि हर्सपावर र ३०० एनएम टर्क प्रदान गर्छ । दुवै मिलेर कुल हर्सपावर करिब १०० पुग्ने कम्पनीले बताएको हो ।
एम टूमा रिजनरेटिभ ब्रेकिङ सिस्टम पनि उपलब्ध छ । ब्रेक लगाउँदा इलेक्ट्रीक मोटरले जेनेरेटरको रूपमा काम गर्दै उत्पन्न भएको ऊर्जा पुन ब्याट्रीमा ट्रान्सफर गर्छ । यसमा प्रयोग भएको ब्याट्रीलाई छुट्टै चार्ज गर्न पर्दैन ।
कम्पनीले यो मोटरसाइकललाई सुपरमोटो विश्व च्याम्पियन राइडर मार्फत रेसिङ सर्किटमा परीक्षण समेत गराएको छ । परीक्षणका क्रममा मोटरसाइकलले उत्कृष्ट नियन्त्रण र हाई पर्फमेन्स देखाएको रिपोर्टमा उल्लेख गरिएको छ ।
एम टू हाल परीक्षण चरणमै रहेका कारण कम्पनीले यसका बारे धेरै जानकारी सार्वजनिक गरेको छैन । फ्युरियन कम्पनी नयाँ नयाँ टेक्नोलोजीमा साधन बनाउनलाई निकै चर्चित छ । यसले एम टू हाइब्रिड अल ह्वील ड्राइभका अलावा अन्य एम वान, एम थ्री र एफ वान नाम दिएर नयाँ एड्भान्स टेक्नोलोजीमा मोटरसाइकलहरूको निर्माणमा काम गरिरहेको छ ।
कम्पनीले सुरूवातमा एफ वान मोडल बजारमा ल्याउने बताएको छ । एफ वान भने इलेक्ट्रीक अल ह्वील ड्राइभ मोडल हो । यसको दुवै टायरमा इलेक्ट्रीक मोटर जडान हुने छ । यसले एक पटकको चार्जमा करिब ३०० किलोमिटरसम्म रेन्ज दिने छ ।

