काठमाडौं । एमजीले ग्लोबल मोडलको रुपमा ‘एमजी फोर एक्स क्रसओभर एसयूभी’ बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउन लागेको नयाँ मोडलको धेरै फिचरको घोषणा भएको हो ।
साइजका हिसाबले एमजी फोर एक्स अहिले बजारमा रहेको एस फाइभभन्दा पनि केही लामो हुनेछ । एमजी एस फाइभ ४४७६ एमएम लामो छ । जबकी नयाँ आउने फोर एक्स एसयूभीको लम्बाइ ४५०० एमएम रहने छ । चौडाइ र उचाइ पनि नयाँ एसयूभीको एमजी एस फाइभ बराबर नै हुनेछ ।
कम्पनीका अनुसार १८४९ एमएम फारिकलो क्रसओभर एसयूभी १६२१ एमएम अग्लो हुनेछ । यसमा ह्वीलवेस भने २७३५ एमएम लामो रहनेछ । कम्पनीले यसमा १८ इन्चको अलोय ह्वील दिनेछ ।
गाडीको अप्रोच एङ्गल १८ डिग्री र डिपार्चर एङ्गल २४ डिग्री रहनेछ । समग्र एसयूभीको कर्भ वेट १६४० केजीदेखि १७५५ केजीको बीचमा रहने छ । चिनियाँ बजारमा १२५ किलोवाट क्षमताको मोटरमा बिक्री हुने एमजी फोर एक्स मोडल सम्भवत नेपाली बजारमा ९९ किलोवाट क्षमताको मोटरमा आउनेछ ।
अझै कम्पनीले यसमा प्रयोग हुने ब्याट्रीको साइज र मूल्यको बारेमा आधिकारीक जानकारी दिएको छैन । अहिले झट्ट गाडी हेर्दा एमजी एस फाइभकै हाराहारी मूल्यमा एमजी फोर एक्स बजारमा आउनेछ ।
एमजीका दुई उत्पादन नेपाली बजारमा ल्याउने तयारी आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले गरिरहेको समयमा चीनमा भने नयाँ मोडल सार्वजनिक भएको हो । चीनमा सार्वजनिक भएको नयाँ मोडल नेपाल पनि पक्कै आउने छ ।
नेपालमा सन् २०१९ देखि नै ईभी बिक्री गर्दै आएको पारामाउन्ट मोटर्सले बिक्री गर्ने एमजी फोर एक्सको मूल्य चीनमा बिक्री सुरु भएपछि अनुमान गर्न सकिन्छ ।

