तीन महिनापछि पोखरा-जोमसोम हवाई उडान सुरू

काठमाडौं । प्रतिकूल मौसमका कारण तीन महिनादेखि बन्द रहेको पोखरा–जोमसोम नियमित हवाई सेवा पुनः सुरू भएको छ ।

गत मंसिरदेखि बन्द रहेको पोखरा-जोमसोम नियमित हवाई उडान शनिबारदेखि पुनः सुरू भएको हो ।

मौसम सुधार आउनुसँगै पर्यटकीय सिजन सुरू भएकाले हवाई कम्पनीलेहरूले आफ्नो उडान नियमति गरेका हुन् ।

शनिबार समिट एयरलाइन्सले तीन उडान गरेको छ । जसमा काठमाडौंबाट दुई र पोखराबाट एक उडान गरेको हो ।

जोमसोम विमानस्थल प्रमुख दीपक पोख्रेलले शनिबारदेखि नियमित हवाई उडान पुनः सुरू भएको बताए । अब मौसममा खराबी नआए नियमित उडान हुने उनले बताए ।

‘शनिबार समिटले तीन उडान गर्यो । अचानक मौसममा खराबी नआए अब नियमित हुन्छ, पर्यटकको चहलपहल पनि बढेको छ,’ उनले भने ।

त्यस्तै, तारा एयरलाइन्सले पनि जोमसोम उडानको आवश्यक तयारी गरिरहेको जनाएको छ ।

यसअघि बाक्लो हुस्सु, कुहिरो र अत्यधिक हावाहुरीका कारण उडान हुन सकेको थिएन । यद्यपि, चार्टर्ड उडान भने भइरहेको थियो।

हवाई मार्ग अवरुद्ध हुदाँ पर्यटक तथा यात्रु बेनी-जोमसोम सडक हुँदै मुस्ताङ जाने गरेका छन् ।


Back_to_top