काठमाडौं । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा)को प्रतिनिधि मण्डलले अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बराललाई भेटी अटोमोबाइल क्षेत्रको समस्याहरूको सम्बन्धमा विस्तृत छलफल गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले शिथिल अवस्थामा रहेको अटामोबाइल क्षत्रेलाई गतिशील बनाउन आवश्यक पर्ने केही नीति नियमहरूमा परिवर्तन आवश्यक रहेको जानकारी गराएको हो ।
यसो भएमा सरकारले प्राप्त गर्ने राजश्व र रोजगारीमा पनि बृद्धि हुने नाडाको भनाइ छ । अध्यक्ष उप्रेतीले सीकेडी उद्योगले रोजगारी समेत सिर्जना गर्ने भएकोले यसको स्थायित्वका लागि कम्पोनेण्ट उद्योगहरूको आवश्यकता रहेको बताए । त्यस्ता उद्योग खोल्न सरकारले प्रोत्साहन गर्नुपर्ने, आवश्यक कच्चा पदार्थहरू आयात गर्दा छुटको व्यवस्था हुनुपर्ने बताए ।
अध्यक्ष उप्रेतीले कतिपय अटोमोबाइल बस्तुहरू नेपालमै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरू सरकारसँग नभएकोले व्यवसायीहरूले विभिन्न समस्याहरूको सामना गर्नु परिरहेको बताए ।
राजश्व सचिव बरालले नाडाबाट प्राप्त सुझावहरू कार्यान्वयन योग्य रहेको बताए । उनले यी समस्याहरू बारे आफू जानकार रहेको बताउँदै साधानका लागि पहल गर्ने आश्वासन दिए ।
नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले लोन टु भ्याल्यु अनुपात बढाउन आवश्इक रहेको बताए । सवारी साधनहरूको बिक्री बढ्दा रोजगारी सिर्जन भई सरकारको राजस्व समेत बढ्ने बताए ।
नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल उद्योग विस्तार भएमा राजश्व र रोजगारीमा वृद्धि हुने बताए । उनले सरकारले अझैसम्म पनि सवारी साधनहरूलाई विलाशीताको वस्तुमा राखि वर्गीकरण गर्दै आएको गुनासो गरे।


