काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी एक्सपेङको इन्ट्री लेभल एसयूभी मोना एल ०३ सार्वजनिक भएको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले लन्च हुनु अघि मोना ०३ सार्वजनिक गरेको हो ।
एक्सपेङ यो ५ सिटे इलेक्ट्रीक एसयूभीलाई मोना एम ०३ सेडानको पारिवारिक स्टाइलिङलाई निरन्तरता दिएको छ । तर, यसमा ‘फास्टब्याक’ एसयूभी बडी, ठूलो आकार र थप शक्तिशाली सिंगल मोटर सेटअप थपिएको छ ।
मोना एल ०३ को लम्बाइ दुई फरक साइज ४६५० एमएम र ४६७२ एमएम छ । यसको चौडाइ १९२० एमएम, उचाइ १६०० एमएम र ह्वीलबेस २८५० एमएम छ ।
यसको अधिकतम गति प्रतिघण्टा १८० किमी रहेको छ । यो एसयूभीमा लक्ससेयर प्रिसिजन टेक्नोलोजीले बनाएको १८३ किलोवाटको सिंगल इलेक्ट्रीक मोटर छ । जुन मोना एम ०३ सेडानको भन्दा धेरै हो । यसमा सीएएलबी कम्पनीले आपूर्ति गरेको एलएफपी ब्याट्री प्याक छ। दर्ता विवरणमा फिनड्रिम्सको ब्लेड ब्याट्री संस्करण भने उल्लेख गरिएको छैन।
दर्ता विवरण अनुसार एल ०३ मा १८ इन्च र २० इन्चका ह्वीलहरू छन् । भेरियन्ट अनुसार गाडीको अगाडि र पछाडिको भागको ओभरह्याङ फरक फरक रहेको छ ।

एल ०३ टी आकारको हेडलाइट र सुव्यवस्थित मोनाको डिजाइन शैलीलाई पछ्याएको छ। यसको पछाडिको भाग कुपे एसयूभी जस्तो देखिन्छ । अगाडिको बम्परमा एक्टिभ ग्रिल छ भने पछाडिको भागमा नयाँ फुल विथ टेललाइट छ। यसमा प्यानोरामिक ग्लास रूफ, सेमि हिडन डोर ह्याण्डलहरू र वरिपरि धेरै क्यामेराहरू छन्।
यसमा वैकल्पिक उपकरणका रूपमा विभिन्न क्यामेरा, फेन्डर ट्रिम, साइड भ्यू क्यामेरा, रियर स्पोइलर र विभिन्न डिजाइनका ह्वीलहरू उपलब्ध हुनेछन् । यसमा एक्सपेङको भिजन आधारित ड्राइभर असिस्टेन्स प्रणाली र अर्बन एसिस्टेड ड्राइभिङ अपेक्षा गरिएको छ ।
एक्सपेङ जी सिक्सभन्दा कम मूल्यमा आउने मोना एसयूभीको मूल्य १६ हजार ८०० अमेरिकी डलर हाराहारी कायम हुने अनुमान छ । युरोपियन बजारमा बिक्री हुने भएपछि मोना एसयूभी नेपाली बजारमा पनि आउने छ । यसअघि पनि एक्सपेङले बेलायतमा बिक्री गर्दै आएको मोडल नेपालमा पनि उपलब्ध गराउँदै आएको छ ।
अहिले नेपाली बजारमा ‘एक्सपेङ जी सिक्स’ बिक्री हुँदै आएको छ । एक्सपेङका उत्पादन सीजी मोटर्सले नेपालमा बिक्री वितरण गर्दै आएको छ ।


