सीएफ मोटो २५० डुअल सोल्ड आउट, नयाँ किन्नेले १ महिना कुर्नुपर्ने

काठमाडौं । सीएफमोटोले हालै नेपाली बजारमा सार्वजनिक गरेको डबल पर्पस मोटरसाइकल २५० डुअलले राम्रो बजार पाएको छ ।

सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले नयाँ डबल पपर्स मोटरसाइकल २५० डुअल बजारमा ल्याएको १ महिनामै सोल्ड आउट भएको हो ।

यद्यपि, कम्पनीले कति संख्यामा ल्याएको थियो भन्ने खुलाएको छैन । कम्पनीले २५० डुअलको मूल्य ५ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

पहिलो चरणमा ल्याएको सबै मोटरसाइक्ल सोल्ड आउट भएसँगै अब ग्राहकले अर्को लट आउनजेलसम्म कुर्नुपर्ने भएको छ । कम्पनीका अनुसार अब नयाँ मोटरसाइकल बुकिङ गर्नेले अर्को महिना अर्थात् मे पहिलो हप्ता मात्रै डेलिभरी पाउने छन् ।

सीएफमोटो २५० डुअल मोटरसाइकलमा २५० सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । युरो ५ इमिशन स्ट्याण्डर्डमा रहेको यो मोटरसाइकलले २४.४ पीएस पावर तथा २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियर रहेको छ ।

मात्र १५४ किलोग्राम तौल भएको यो मोटरसाइकल अफरोडको लागि निकै उपयोगी छ । मोटरसाइकलको अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील प्रयोग भएको छ । टायर भने अनरोड र अफरोड दुवैका लागि उपयुक्त हुनेछ।

अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध डुअल २५० मा डबल च्यानल एबीएस र स्लिप असिस्ट क्लच दिइएको छ । यसमा २४५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स र १३ लिटर क्षमताको फ्युल ट्याङक पाउन सकिन्छ ।


Back_to_top