काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका लाइसेन्स वितरणलाई तीव्र बनाएको छ । विभागले देशका विभिन्न २१ जिल्लाका २३ यातायात व्यवस्था कार्यालयहरूमा छापिएका लाइसेन्स वितरणका लागि पठाएको हो ।
विभागले सेवाग्राहीलाई आफूले अन्तिम पटक नवीकरण गरेको र ट्रायल पास गरेको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।
विभागका सूचना अधिकारी गणेशमान सिं राईले सुरक्षण मुद्रण केन्द्रबाट छापिएर आएका लाइसेन्स वितरणका लागि विभिन्न २३ यातायात व्यवस्था कार्यालयहरूमा पठाइएको जानकारी दिए ।
उनका अनुसार यातायात व्यवस्था कार्यालय जुम्ला, बनेपा, सुर्खेत, डडेलधुरा, दिपायल, उदयपुर, धनकुटा, इलाम, कावासोती, गौर, ओखलढुंगा, राजविराज, चौरजहारी, डुम्रे, खुर्कोट, पाल्पा, नवलपरासी, सर्लाही, झापा, सुनसरी, भक्तपुर, ठूलो भर्याङ र चाबहिलका सेवाग्राहीको लाइसेन्स पठाइएको हो ।
उनले ती कार्यालयहरूको सबै ब्याकलग लाइसेन्स छापेर पठाइएको हो । यद्यपि, लाइसेन्सको तोकिएको म्याद ६ महिनाभन्दा कम रहेका, प्राविधिक त्रुटि भेटिएका केही लाइसेन्स भने नछापिएको उनले बताए ।
‘पछिल्लो समय लाइसेन्स छपाइ र वितरण तीव्र बनाइएको छ । हामीले देशका २४ यातायात कार्यालयका सबै ब्याकलग लाइसेन्स वितरणका लागि पठाएका छौं । सेवाग्राहीले आफूले अन्तिम पटक नवीकरण गरेको वा ट्रायल पास भएको सम्बन्धित कार्यालयबाटै पाउनुहुन्छ,’ उनले मेरोअटोसँग भने, ‘अन्य कार्यालयहरूको पनि छापिने क्रम जारी छ । छापिएर आउने बित्तिकै पठाउँछौं ।’
आगामी असार मसान्तसम्म सबै सेवाग्राहीले लाइसेन्स पाइसक्ने उनको भनाइ छ । विभाग र सुरक्षण मुद्रण केन्द्र बीच गत कात्तिक १२ गते पहिलो चरणमा १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भएको थियो । सो अनुसार यही वैशाख १२ गते भित्र १२ लाख थान लाइसेन्स छापिसकिने छ ।
त्यस्तै, विभागले गत शुक्रबार थप १७ लाख थान लाइसेन्स छपाइको सम्झौता गरेको छ । ती लाइसेन्स आगामी असार मसान्त भित्र छापिसकिने छन् ।


