हुलाक मार्फत पठाइए पौने ५ लाख लाइसेन्स, ६७१ जनाले घरमै पाए

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले सुरू गरेको सरकारी ‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार भएको छ ।

हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई ‘डिजिटल’ र व्यवस्थित बनाउने प्रयासस्वरूप राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको जनाएको हो ।

बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक (चैत १३)ले शासकीय सुधारका १०० बुँदा स्वीकृत गर्दै परम्परागत हुलाक सेवाको स्वरूप परिवर्तन गर्दै आधुनिक सरकारी सेवा वितरण प्रणालीका रूपमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । सोही अनुसार अहिले सरकारी कागजात हुलाक मार्फत नै ढुवानी भइरहेको छ ।

यातायात सेवामा पनि हुलाक प्रणालीको प्रयोग विस्तार हुँदै गएको छ । हुलाक मार्फत देशभरका यातायात व्यवस्था कार्यालय र नागरिकको घरदैलोमै लाइसेन्स उपलब्ध गराउन थालिएको छ ।

हुलाक सेवा विभागका अनुसार यही जेठ ८ गतेसम्म ४ लाख ७० हजार ८८१ वटा सवारी चालक अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयहरूमा पठाइएको छ । यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रमा छापेका १२ लाख लाइसेन्समध्ये उपत्यका बाहिरका कार्यालयहरूको वितरणका लागि हुलाक मार्फत पठाएको हो ।

त्यस्तै, ६७१ वटा लाइसेन्स सेवाग्राहीको घरमै पुर्याइएको विभागले जनाएको छ । सम्बन्धित यातायात व्यवस्था कार्यालय र जिल्ला हुलाक कार्यालयको समन्वयनमा ६७१ जनाको लाइसेन्स घरमै पुर्याइएको हो ।

त्यस्तै, हालस्म्म २८ हजार १६९ वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ । तीमध्ये १ हजार ६३५ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको छ ।

त्यस्तै, हालसम्म २६० वटा शैक्षिक प्रमाणपत्र, ४८८ वटा प्रयोगशाला नमूना ढुवानी गरिएको विभागले जनाएको छ । सुर्खेत, बाँके र काठमाडौंबाट प्रयोगशाला नमूना ढुवानी सेवा सुरू गरिएको हो ।

नेपाल टेलिकमसँग सहकार्य गरी सिमकार्ड घरमै पुरयाउने सेवा सुरू गर्ने तयारी भइरहेको छ । मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरू भइसकेको छ भने नेपाल खुला विश्वविद्यालयसँग शैक्षिक प्रमाणपत्र ढुवानीबारे छलफल जारी रहेको विभागले जनाएको छ ।


Back_to_top