फेरारीको पहिलो प्योर इलेक्ट्रीक कार ‘लुस’, किन हुँदैछ चर्चासँगै आलोचना ?

काठमाडौं । फेरारीले उत्पादन गर्ने पहिलो इलेक्ट्रीक कार ‘फेरारी लुस’ बाहिर आएसँगै यसको चर्चा विश्वभर भइरहेको छ । यसको चर्चासँगै आलोचना पनि सुन्न पाइन्छ ।

तीव्र गतिमा कुद्न सक्ने फेरारीको लिगेसीलाई कायम राख्दै बजारमा आउन लागेको फेरारी लुस एप्पलका पूर्व डिजाइनर जानी आइभको टीमले डिजाइन गरेको हो । त्यसैले फेरारीको पुरानो लिगेसी, फरक डिजाइन र टेक्नोलोजीभन्दा यो पृथक छ ।

फेरारी पावर र पर्फमेन्स कारको लागि चिनिएको ब्राण्ड हो । त्यो मामलामा नयाँ इलेक्ट्रीक फेरारी लुस पनि कमजोर छैन । टप स्पीड ३१० किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडन सक्ने यो कारको चारवटै चक्कामा इलेक्ट्रीक मोटर दिइएको छ ।

यसमा प्रयोग भएका इलेक्ट्रीक मोटरको संयुक्त पावर १०५० हर्स पावर हुनेछ । यसलाई शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन केबल २.५ सेकेण्ड मात्रै लाग्नेछ ।

कम्पनीले फेरारी लुसलाई ८०० भोल्ट आर्किटेक्चरमा बनाइएको हो । त्यसैले ३५० किलोवाटसम्मको डीसी चार्जर सजिलै प्रयोग गर्न सकिन्छ । कम्पनीले पावरफुल कार भएको कारण यसमा १२२ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । उक्त ब्याट्री फुलचार्ज गरेर ५०० किलोमिटरसम्म चलाउन सकिन्छ ।

कम्पनीले फेरारीको लिगेसी मर्न नदिन भन्दै ईभीमा मोटरको कम्पनलाई ‘एम्पलीफाई’ गरेर साउण्ड निस्कने बनाएको छ । गियर सिफ्ट गर्दा आउने मज्जा कायम राख्न कम्पनीले ‘टर्क सिफ्ट इनगेजमेन्ट’ नामको सिस्टम दिएको छ ।
परिवारले नै प्रयोग गर्न मिल्ने पहिलो फेरारी मोडलको रूपमा कम्पनीले यसलाई बजारमा उतार्दैछ । यसको क्याबिन पनि विशेष छ । चालक सहित पाँच जनाले यात्रा गर्न मिल्ने फेरारी लुसको ड्यासबोर्डमा रोटेड हुने ओएलइडी टच स्क्रीन दिएको छ ।

डिजिटल र फिजिकल बटनहरूको मिश्रण, एयरक्राफ्टमा जस्तो स्विचको प्रयोग, एल्युमिनियम, लेदर र ग्लासको प्रयोगबाट तयार भएको फेरारी लुस ‘एक बटन, एक काम’ अवधारणामा बनेको हो ।
विल्कुलै फरक लाग्ने नयाँ फेरारीलाई लाग्ने पहिलो आरोप नै फेरारी जस्तो देखिँदैन । यसलाई एप्पल जस्तै अत्याधिक ‘फ्यूचरस्टिक’ डिजाइन भएको आरोप छ । साथै, यसअघि दुई सिट क्षमताको कार अहिले पारिवारिक कार बनेर आएकोमा केहीले असन्तुष्टि जाहेर गरेका छन् ।

कम्पनीले यसको मूल्य ६ लाख ४० हजार अमेरिकी डलर (९ करोड ७६ लाख नेपाली रुपैयाँ) तोकेको छ । यसको डेलभरी सन् २०२६ को चौथो त्रैमासदेखि सुरू हुनेछ ।


Back_to_top