काठमाडौं । अब भन्सार कार्यालयहरूको अनलाइन सिस्टममै कुनै पनि वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य हेर्न सकिने भएको छ । भन्सार विभागले ‘कस्टम भ्यालुएसन डाटाबेस सिस्टम’मा अन्तर्राष्ट्रिय बजार मूल्य सम्बन्धी सूची समावेश गर्दै यस्तो व्यवस्था गरेको हो ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । अर्थमन्त्री वाग्लेले प्रणाली कार्यान्वयनपछि अन्तर्राष्ट्रिय व्यापारमा थप सहजीकरण हुने, भन्सार मूल्यांकन प्रणाली अझ पारदर्शी र यथार्थपरक बन्ने बताएका थिए।
भन्सार विभागका सूचना अधिकारी (निर्देशक) किशोर बर्तौलाले कस्टम भ्यालुएसन डाटाबेस सिस्टमलाई थप प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय बजार मूल्य हेर्न मिल्ने व्यवस्था विकास गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।
उनका अनुसार २०८२ असोज ८ गतेदेखि विराटनगर भन्सार र पुस १८ गतेदेखि आशिकुडा प्रणाली लागू भएका सबै भन्सारमा ‘कस्टम भ्यालुएसन डाटाबेस सिस्टम’ कार्यान्वयनमा ल्याइएको थियो । अहिले सोही सिस्टममा अन्तर्राष्ट्रिय मूल्यसूची समावेश गरिएको उनले बताए ।
यससँगै अब विदेशबाट आयात हुने कुनै पनि वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य कति छ भनेर थाहा पाउन सजिलो हुने उनले बताए । ‘विभागले २०८२ असोज ८ गतेदेखि विराटनगरबाट कस्टम भ्यालुएसन डाटाबेस सिस्टम कार्यान्वयनमा ल्याएको थियो । पुस १८ देखि आशिकुडा प्रणाली लागू भएका सबै भन्सारमा विस्तार गरिएको थियो,’ उनले मेरोअटोसँग भने, ‘अहिले सोही सिस्टममा अन्तर्राष्ट्रिय मूल्यसूची क्याटागोरी थपिएको हो । यसले पैठारी हुने वस्तुको मूल्य अन्तर्राष्ट्रिय बजारमा कति छ भन्ने थाहा हुन्छ ।’ साथै, कारोबार मूल्य निर्धारणमा थप सहयोग पुग्ने उनको विश्वास छ ।
यद्यपि, भन्सार जाँचपास भने व्यवसायीले पेश गरेकै कागजातमा उल्लेख मूल्यकै आधारमा गरिने उनले बताए । अन्तर्राष्ट्रिय मूल्यसूचीलाई जानकारीको रूपमा मात्र लिइने उनको भनाइ छ ।
यो प्रणाली कार्यान्वयनसँगै विश्व व्यापार संगठनको मूल्यांकन सम्बन्धी सम्झौता गट भ्यालुसनको पूर्ण रूपमा कार्यान्वयन गर्न र पैठारी हुने वस्तुको कारोबार मूल्य निर्धारणमा थप सहयोग पुग्ने विश्वास लिइएको विभागको भनाइ छ ।


