काठमाडौं । एमजी मोटर इन्डियाले आफ्नो नयाँ फुलसाइज एसयूभी मेजेस्टर बिक्री सुरू गरेको छ । कम्पनीले सुरुआती मूल्य ४० लाख ९९ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेर भारतीय बजारमा बिक्री थालेको हो ।
एमजी मेजेस्टर एसयूभी निकै शक्तिशाली रहेको छ । यो एसयूभीले गत मार्चमा ४०६.४ टन तौल भएको रेल तानेर गिनिज वल्र्ड रेकर्ड समेत बनाएको थियो ।
एमजी मेजेस्टरमा २.० लिटरको ट्विन टर्बोचाज्र्ड डिजेल इन्जिन छ । जसले २१५.५ पीएस पावर तथा ४७८.५ न्युटन टर्क उत्पादन गर्दछ । यसमा ८ स्पीड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ।
मेजेस्टर एसयूभी रियर ह्वील र फोर ह्वील दुवै ड्राइभ अप्सनमा उपलब्ध छ । यसको लम्बाइ ५,०४६ एमएम, चौडाइ २,०१६ एमएम, चौडाइ १८७६ एमएम र २९५० एमएम लामो ह्वीलबेस छ ।
यसको अगाडि विशाल ठूलो ग्लसी ब्ल्याक कलरको ग्रिल प्रयोग भएको म्याजेस्टरको पछाडि दुई वटा ‘एग्जस्ट पाइप’ प्रयोग गरिएको छ । एमजीले म्याक्सस डी ९० मा आधारित रहेर तयार पारेको म्याजेस्टरले ठूला गाडी चाहनेहरूको आवश्यकता पूरा गर्नेछ ।

मेजेस्टरको ग्रिलको दुवै छेउमा ठाडो आकारमा दिइएको एलईडी हेडलाइट पाउन सकिन्छ । हेडलाइटको माथि आइब्रो डिजाइनमा स्लीक एलईडी डे टाइम रनिङ लाइट प्रयोग भएको छ । अगाडिको बम्परको तल्लो भाग निकै रग्ड डिजाइनमा देखिने कालो बडी क्लाडिङ दिइएको छ ।
ड्यूल टोनमा तयार भएको १९ इन्चको ह्वील प्रयोग गरिएको म्याजेस्टरको पछाडि कनेक्टेड एलईडी टेल लाइट पाउन सकिन्छ । पछाडिको बम्परको तल्लो भागमा सिल्भर कलरको स्कीड प्लेट दिइएको छ ।

एमजी मेजेस्टरमा उत्कृष्ट अफरोड क्षमताहरू पनि छन् । यसमा १० वटा अफरोड मोडहरू सहितको फोर ह्वील ड्राइभ सिस्टम, ट्रिपल डिफरेंशियल लक (अगाडि, पछाडि र बीच), क्रल कन्ट्रोल र २१९ एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । यस एसयूभीमा ८१० एमएम गहिरो पानीमा चल्न सक्ने क्षमता पनि छ ।
सुरक्षाका लागि मेजेस्टरमा लेभल २ एडास प्रणाली जडान गरिएको छ । एमजी म्याजेस्टर एसयूभीको क्याबिन पनि निकै फिचर लोडेड छ । कम्पनीले यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ टच स्क्रीन, १२.३ इन्चकै इनफर्मेशन डिस्प्ले र थ्री स्पोक स्टेरिङ ह्वील छ ।

कम्पनीले यसमा थ्री जोन क्लाइमेट कन्ट्रोल, १२ स्पीकर सहितको साउण्ड सिस्टम, हिटेड तथा भ्यान्टिलेटेड सिटहरू, मसाज सिट दिएको छ ।
एमजी मेजेस्टरले टोयोटा फर्चुनर, जीप मेरिडियन, फक्सवागन टायरोन र स्कोडा कोडियाकसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
हाल नेपालमा भारतमा उत्पादन भएका एमजीका गाडीहरू जीओ अटोमोबाइलले बिक्री गर्दै आइरहेको छ । भारतमा बिक्री सुरू भएसँगै मेजेस्टर पनि नेपाल आउने सम्भावना छ ।


