बजेट अघिको १ महिनामै भित्रिए २७४६ युनिट विद्युती कार, कुन ब्राण्डका कति ?

काठमाडौं । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि बजेटको मुखैमा ठूलो संख्यामा विद्युतीय कार आयात भएको छ । भन्सार तथ्यांक अनुसार वैशाख १५ देखि जेठ १५ गतेसम्म (सन् २०२६ मे) १ महिनाको अवधिमा २ हजार ७४६ युनिट कार भित्रिएका हुन् ।

त्यसमा पनि जेठको १५ दिनमा मात्रै २ हजार १३९ युनिट कार आयात भएको छ । वैशाखको अन्तिम १५ दिनमा ६०७ युनिट विद्युतीय कार आयात भएको छ ।

मे महिनामा कुल २६ ब्राण्डका विद्युतीय कार नेपाल आएका हुन् । जसमा एउटै ब्राण्डका आधा अर्थात् ५०.८३ प्रतिशत रहेका छन् । मेमा २७४६ युनिट आयात हुँदा बीवाइडीले मात्रै १३९६ युनिट ल्याएको छ ।

नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बजेट अघिको १ महिनामा १३९६ युनिट ईभी कार ल्याएको हो । कम्पनीले रसुवागढी र कोरला नाका हुँदै ती कार ल्याएको हो । साइमेक्सले बीवाइडीका सिलायन सेभेन, एटो १, एटो २ र एटो ३ मोडल ल्याएको हो ।

दोस्रो धेरै टाटा ब्राण्डका विद्युतीय कार आयात भएको छ । सिप्रदी ट्रेडिङले मेमा कुल २८६ युनिट ईभी भित्र्याएको हो । जसमा ट्याक्सीको रुपमा बिक्री हुने एक्सप्रेस टी सर्वाधिक १२२ युनिट आयात गरेको छ । १६४ युनिट भने टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी ल्याएको छ ।

तेस्रो धेरै दीपल ब्राण्डका विद्युतीय कार आएका छन् । एमएडब्लू वृद्धिले २४६ युनिट भित्र्याएको छ । जसमा कम्पनीले अधिकांश दीपल एस ०५ मोडल एसयूभी ल्याएको छ ।

चौथो धेरै डोङफेङ ब्राण्डमा २१० युनिट ईभी कार आयात भएको छ । एमएडब्लू वृद्धिले २१० युनिट नामी भिगो ल्याएको छ ।

पाँचौंमा चाइना मेड एमजीका कार भित्रिएका छन् । पारामाउन्ट मोटर्सले मेमा १३४ युनिट एमजीका गाडी ल्याएको छ । कम्पनीले एमजी एस फाइभ र एमजी एस सिक्स ल्याएको हो ।

यी पाँच बाहेक अन्य ब्राण्डका कार भने १०० युनिटभन्दा कम आएका छन् । मेमा एसपीजी अटोमोबाइल्सले चेरीको आइकार भी २३ ७७ युनिट, जेको ब्राण्डका ६५ र ओमोडाका ५० युनिट कार भित्र्याएको छ ।

त्यसैगरी, केईका ६०, सुजुकीको ३१, भारत मेड एमजी ३१, फोरथिङ फ्राइडे २५, दायुन २१, महिन्द्रा १४, जीएसी आयोन १३, लीपमोटर १० र एक्सपेङ ब्राण्डका १० युनिट ईभी आयात भएका छन् ।

९ ब्राण्डमा भने १० युनिट कम ईभी आयात भएको छ । जसमा बीएमडब्लू ८, ग्रेट वाल मोटर ७, जिली र आइएम ३/३, अवतार, हेनरी, हुन्डाई र एलएस अटो २/२ र डेन्जा ब्राण्डको १ युनिट ईभी आयात भएको छ ।


Back_to_top