सुजुकीले ल्यायो भारतमै पहिलोपटक फ्लेक्स फ्युलबाट चल्ने कार

काठमाडौं । मारुती सुजुकीले भारतमै पहिलो पटक फ्लेक्स फ्युबाट चल्ने कार सार्वजनिक गरेको छ । कम्पनीले ८५ प्रतिशतसम्मको इथानोल मिश्रण (ई ८५)बाट चल्न सक्ने ‘वागनआर फ्लेक्स फ्युल’ कार सार्वजनिक गरेको हो ।

यससँगै सुजुकीले वैकल्पिक इन्धन प्रविधिको क्षेत्रमा अर्को ठूलो कदम चालेको हो । यसले परम्परागत जीवाश्म इन्धन (पेट्रोल÷डिजल) माथिको निर्भरता घटाउन, मूल्य वृद्धिको मार कम गर्न र भारतको बायोफ्युल मार्गचित्रलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वागनआर ह्याचब्याककै प्लेटफर्ममा आधारित यस फ्लेक्स फ्युल संस्करणलाई इथानोल र पेट्रोलको विभिन्न मिश्रणहरूबाट चल्न सक्ने गरी इन्जिनियरिङ गरिएको छ।

पेट्रोल गाडीको तुलनामा वागनआर फ्लेक्स फ्युलमा धेरै हार्डवेयर र सफ्टवेयर परिमार्जनहरू गरिएको छ । जसले गर्दा यसले इथानोलको उच्च मात्रालाई धान्न सक्छ । यसको इन्जिनमा इन्धन आपूर्ति गर्ने आधुनिक पार्टपुर्जाहरू, इथानोल अनुकूल सामग्रीहरू र परिमार्जित इन्जिन क्यालिब्रेसन जडान गरिएको छ।

यसको पावरट्रेन व्यवस्थापन प्रणालीले प्रयोग भइरहेको इथानोलको मात्रा अनुसार इन्धन इन्जेक्सन र कम्बस्चन प्रक्रियालाई निरन्तर रूपमा समायोजन गर्दछ ।

परम्परागत पेट्रोल गाडीहरूको तुलनामा इथानोल मिश्रणले गाडीको धुवाँबाट हुने प्रदूषण कम गर्न र कच्चा तेलको खपत घटाउन मद्दत गर्दछ । यो आयोजनाले अटोमोटिभ क्षेत्रमा इथानोलको प्रयोग बढाउने र दीर्घकालीन रूपमा भारतको ऊर्जा सुरक्षाको लक्ष्यलाई सहयोग गर्ने केन्द्रीय सरकारको योजनालाई साथ दिएको कम्पनीले जनाएको छ।

हाल भारतमा ई २० अनिवार्य छ । हालै मात्र ई २२, ई २५,ई २७ र ई ३० इन्धनका मापदण्डहरू आधिकारिक रूपमा अधिसूचित गरिएका छन् । जसले आगामी वर्षहरूमा इथानोलमा आधारित इन्धनको व्यापक प्रयोगका लागि बाटो खोलेको छ ।


Back_to_top