प्रोटोनको नयाँ मोडल नेपाल ल्याउँदै जगदम्बा मोटर्स

काठमाडौं । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ मोडलको एसयूभी ल्याउने भएको छ । कम्पनीले प्रोटोन इमास सेभन एसयूभीको सफलतापछि नयाँ मोडलको रुपमा प्रोटोन इमास फाइभ ल्याउने भएको हो ।

सन् २०२६ मा मलेसियाको सर्वाधिक बिक्री भएको इलेक्ट्रीक एसयूभी चाँडै नेपाल ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

शहरी जीवनशैली र नयाँ पुस्ताको गतिशीलतालाई ध्यानमा राखेर विकास गरिएको यो मोडल नेपाली उपभोक्ताको अझ व्यापक वर्गसम्म पुर्याउने कम्पनीको अपेक्षा छ ।

‘नेपालमा प्रोटोन इमास सेभेनले प्राप्त गरेको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ । यसले नेपाली उपभोक्ता विद्युतीय सवारीतर्फ आकर्षित भइसकेका छन् र गुणस्तरीय विकल्पको खोजीमा रहेको स्पष्ट संकेत दिएको छ । आगामी योजनाहरूलाई लिएर हामी निकै उत्साहित छौँ,’ कम्पनीले भनेको छ ।

कम्पनीले हाल बिक्री गर्दै आएको प्रोटोन ई.मास सेभेन नेपालमा सफल एसयूभी हो । यसमा १६० किलोवाटको मोटर छ । जसले एकपटकको फुलचार्जमा ४७५ किलोमिटरसम्म एनईडीसी रेन्ज दिन्छ ।

यसमा ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, उन्नत हेडरेस्ट स्पिकर प्रणाली, अत्याधुनिक ड्राइभिङ प्रविधि तथा फराकिलो र आधुनिक भित्री सजावटका साथै अत्याधुनिक सुरक्षा र कनेक्टिभिटी लगायत फिचर छन् ।

हाल ईमास सेभने खरिद गर्ने ग्राहकले १ वर्षको निःशुल्क बीमा, १ वर्षको सडक कर छुट, निःशुल्क ७ किलोवाट क्षमताको होम चार्जर, ८ वर्षको वारेन्टी र आकर्षक नगद छुट सुविधा समेत पाउने छन् ।

प्रोटोन बाहेक जगदम्बा मोटर्सले टीभीएस, चेरी वाण्डा, जेएमईभी ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको छ ।

उत्पादन क्षमता बढाउँदै

बजारमा आफ्ना ईभीको माग बढेसँगै कम्पनीले आक्रमक योजना अघि सारेको छ । कम्पनीले उत्पादन क्षमता बढाउन प्रोटोनले तान्जुङ मालिमस्थित आफ्नो ईभी उत्पादन कारखानाको क्षमता विस्तार गर्ने भएको छ । यसका लागि ३ करोड ७० लाख मिलियन मलेसियन रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ ।

यससँगै कम्पनीले आफ्नो वार्षिक उत्पादन क्षमता दोब्बरभन्दा बढी बढाएर ४२ हजार युनिट पुर्याउने लक्ष्य राखेको छ । पटानले सन् २०२६ मा ईभी बिक्रीमा छलाङ मारेको छ । अप्रिलसम्म बिक्री ३२९ प्रतिशतले बढेको छ । चार महिनामै ११ हजार ६१७ युनिटभन्दा बढी कार हस्तान्तरण गरिसकेको छ ।


Back_to_top