काठमाडौं । आयात मूल्य (सीआइएफ) ५० लाख रुपैयाँ माथिका विद्युतीय कारमा सरकारले २२७ प्रतिशत कर लगाएसँगै ईभी किन्नुभन्दा बढी फाइदा पेट्रोल कार किन्दा हुने देखिएको छ ।
अहिले पेट्रोल कारमा इन्जिन क्षमताको आधारमा कुल ३५६ प्रतिशतसम्म कर लगाइएको छ । हाइब्रिड कारको हकमा भने जत्रोसुकै इन्जिन भए पनि भन्सार शुल्क ८० प्रतिशत, अन्तःशुल्क ६० प्रतिशत लगाइएको छ । सडक निर्माण कर १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत गरी आयात मूल्यको कुल २५७.९८ प्रतिशत कर थप हुँदै आएको छ । जुन आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पनि निरन्तरता दिइएको छ ।
आगामी आवको बजेटले ५० लाख रुपैयाँ सीआइएफ मूल्य माथिको विद्युतीय कारमा २२७ प्रतिशत कुल कर लगाइएको छ । जसमा भन्सार २० प्रतिशत, स्वच्छ निर्माण कर १३० प्रतिशत, सडक निर्माण कर ५ प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्नेछ ।
झट्ट हेर्दा पेट्रोलियम पदार्थको प्रयोग हुने कारको तुलनामा हाइब्रिड कारमा ३० प्रतिशत कर धेरै लागेको देखिन्छ । तर, ईभीहरूको खरिद मूल्य केही बढी भएको कारण उपभोक्ताको लागि बिक्री मूल्य उस्तै पर्न जान्छ ।
एउटा उदाहरणमा हेरौं
बजेट अगाडि बीएमडब्लूको सबैभन्दा सानो ईभी आइएक्स वानको मूल्य नेपालमा १ करोड ८६ लाख रुपैयाँ थियो । यो प्योर ईभी भएको र मोटर पावर १८० किलोवाट भएको कारण यसमा ३० प्रतिशत भन्सार, २० प्रतिशत अन्तःशुल्क, सडक निर्माण कर ५ प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्थ्यो । जुन ८५ प्रतिशत हुन्थ्यो ।
अब मूल्यको आधारमा कर लाग्दा यसमा २२७ प्रतिशत कर लाग्ने भयो । यसको सीआइएफ मूल्य ५० लाख रुपैयाँभन्दा माथि छ । त्यसैले यसमा २२७ प्रतिशत कर लाग्छ । यदि, तपाईं करको सुविधा ईभीमा छ भनेर किन्ने योजनामा हुनुहुन्छ भने कुनै पनि ब्राण्डको ५० लाख माथिको इलेक्ट्रीक मोडल तपाईंको लागि महँगो लाग्न सक्छ ।
पेट्रोल कारसँग तुलना
यदि, तपाईं प्रिमियम ब्राण्डको २.० लिटर टर्बो इन्जिन भएको कार किन्दै हुनुहुन्छ भने २९१ प्रतिशत कर तिर्नुपर्छ । त्यस बापत तपाईंले विश्वमै ख्याती कमाएका ब्राण्ड बीएमडब्लू, मर्सिडिज, लेक्सस जस्ता ब्राण्डका कार पनि छान्न सक्नुहुन्छ ।
तर, मूल्य ५० लाख माथि भएकै कारण चिनियाँ स्टार्टअप कम्पनीका ईभीमा करोडौं रुपैयाँ ब्राण्डमा विश्वास गर्नेहरूले लगानी गर्दैनन् । सरकारकै भाषामा ५० लाख रुपैयाँ माथिका कार विलासी हो भने पैसा कमाउनेको लागि ईभी भन्दा पेट्रोल कार ‘स्टेटस सिम्बोल’ बन्न सक्छन् ।
अन्त्यमा, सरकारले विद्युतीय कारलाई प्रोहोत्साहन गर्ने नीति लिएको भने पनि ३० लाखभन्दा कम सीआइएफ मूल्य भएका कारमा उक्त नीति लागू भएको देखिन्छ । तर, त्योभन्दा माथिल्लो मूल्य कायम भएर आएको ईभीहरूमा विगतको जस्तो फाइदा रहन्न । यसअघि मोटर पावर घटाएर आयात भएका ईभीहरू अब कसरी आउँछन्, त्यो भने बजारले हेर्नै बाँकी छ ।
प्रिमियम र लग्जरी ब्राण्डका कार खोज्नेहरूले महँगो मूल्य तिरेर चिनियाँ ईभी किन्नुभन्दा अन्तर्राष्ट्रिय बजारमा अलग पहिचान बनाएका पेट्रोल वा हाइब्रिड कार छान्नु बुद्धिमानी हुने देखिन्छ ।


