एमजी एस सिक्सको मूल्य बढ्यो, अब किन्नेले कति तिर्नु पर्छ ?

काठमाडौं । पारामाउन्ट मोटर्सले एमजी एस सिक्स एसयूभीको मूल्य वृद्धि गरेको छ । सरकारले ईभीमा कर बढाएसँगै कम्पनीले मूल्य समायोजन गरेको हो ।

अघिल्लो महिना मात्रै बिक्री सुरु भएको एमजी एस सिक्स एसयूभीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ कायम भएको थियो । अब त्यो मूल्य २ लाख रुपैयाँले बढेर ७१ लाख ९९ हजार रुपैयाँ भएको छ ।

सरकारले बढाएको करमा ७ प्रतिशत माथिको असर आएको थियो । तर, कम्पनीले २ लाख रुपैयाँले मूल्य बढाएको जनकारी दिएको छ । बढेको मूल्य आजैदेखि लागु हुने कम्पनी स्रोतले बतायो ।

बडी साइजका हिसाबले झण्डै ८५ देखि एक करोड माथि पर्ने गाडीको सेग्मेन्टमा रहेको एस सिक्स अन्य प्रतिस्पर्धीभन्दा निकै राम्रो मूल्य तोकिएको हो ।

यसअघि भन्सार ३० प्रतिशत, अन्तःशुल्क २० प्रतिशत र सडक निर्माण कर ५ प्रतिशत लाग्ने सेग्मेन्टमा उपलब्ध एमजी सिक्स अब भन्सार २० प्रतिशत, स्वच्छ निर्माण कर ३५ प्रतिशत र सडक निर्माण कर ५ प्रतिशत लाग्ने सेग्मेन्टमा आउँछ ।

एमजी एस सिक्स ४.७ मिटर सेग्मेन्टमा उपलब्ध एसयूभी हो । १८० किलोवाट क्षमताको पावरफुल इलेक्ट्रीक मोटर रहेको एस सिक्स सेग्मेन्टकै पावरफुल एसयूभी पनि हो ।

पावरसँगै एमजी एस सिक्स रेन्जको कारण पनि चर्चामा रहेको मोडल हो । यसमा ७७ किलोवाट आवरको विशाल साइजको एनसीएम ब्याट्री दिएको छ । यसमो डब्लूएलटीपी रेन्ज नै ५३० किलोमिटर बताइएको छ ।

ब्याट्री साइजको आधारमा निकै ठूलो एमजी सिक्सले १४४ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ ।

एमजीले यसको क्याबिन धेरै हदसम्म एमजी फाइभमा आधारित रहेर तयार पारेको छ । ड्यासबोर्डमा १२.८ इन्चको स्क्रीन, ११ वटा स्पीकर, हिटेड सिट, पानारोमिक सनरुफ, अगाडि फ्रन्ट फ्रङ्क्स उपलब्ध छ ।

टेक्नोलोजीका हिसाबले पनि एमजी सिक्स निकै बलियो छ । आवश्यकता अनुसार मिलाउन सकिने रिजेन, वान पेडल ड्राइभिङ, आइएम सिक्समा दिइएको अप्सनल ‘रेन नाइट मोड’ पाउन सकिन्छ ।


Back_to_top