काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा वीरगंज नाका हुँदै विद्युतीय कार आयात तेब्बरले बढेको छ । चालु आवमा समग्र ईभी कार आयात घट्दा वीरगंज नाकाबाट भने उल्लेख्य रुपमा बढेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको जेठ मसान्तसम्म वीरगंजबाट २ अर्ब ७९ करोड रुपैयाँ बराबरको ९१७ युनिट विद्युतीय कार, जिप, भ्यान आयात भएका छन्। यो गत वर्ष सोही अवधिको तुलनामा ३१३.०६ प्रतिशत हो । गत वर्ष जेठसम्म यस नाका हुँदै २२२ वटा ईभी कार आयात भएको थियो ।
चालु आवमा ९१७ ईभी कार आयात हुँदा सरकारले १ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा ईभी कार आयातबाट ७९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
वीरगंज नाका हुँदै भारत, थाइल्याण्ड लगायत मुलुकबाट विद्युतीय कार आयात हुन्छ ।
त्यस्तै, विद्युतीय दुईपाँग्रे सवारी साधन आयात पनि ह्वात्तै बढेको छ । चालु आवमा १ अर्ब ५२ करोड १७ लाख रुपैयाँ बराबरको १० हजार ८१५ युनिट विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएको छ । जसबाट ४९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ६७ करोड ९३ लाख रुपैयाँ बराबरको ५ हजार २६६ युनिट विद्युतीय दुईपाँग्रे आयात भएको थियो । जसबाट २१ करोड ९८ लाख राजस्व संकलन भएको थियो ।


