काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी अनलाइनलाई सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुनाले एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागमा रहेको सर्भरमा आएको समस्याका कारण ईडीएलभीआरएस प्रणाली अवरुद्ध भएको जानकारी गराएको हो ।
सार्वजनिक सूचना अनुसार लाइसेन्स वितरण, दुईपाँग्रे सवारीको ब्लूबुक नवीकरण र आज हुने ट्रायल परीक्षा बाहेक अन्य सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।
‘यातायात व्यवस्था विभागमा रहेको सर्भरमा आएको समस्याका कारण ईडीएलभीआरएस प्रणाली अवरुद्ध भएकोले यस कार्यालयबाट प्रवाह हुने लाइसेन्स वितरण, दुई पाङ्ग्रे सवारी साधनको ब्लुबुक नवकीकरण, मिति २०८३।०३।२९ गते हुने लिखित परिक्षा र मिति २०८३।०३।२९ हुने वर्ग एके एफ जी को प्रयोगात्मक परिक्षा बाहेकका सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ,’ प्रकाशित सूचनाका भनिएको छ ।
कार्यालयले यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ । लाइसेन्स सम्बन्धी सेवा अवरुद्ध भएसँगै सेवाग्राही भने मर्कामा परेका छन् । सेवाग्राही नयाँ लाइसेन्सको आवेदन, वर्ग थप, लाइसेन्स नवीकरण गराउनबाट बन्चित भएका छन् ।



