काठमाडौं । स्मार्टले आफ्नो नयाँ दुई सीटर विद्युतीय कार #2 अहिले परीक्षण गरिरहेको तस्बिर सार्वजनिक भएको छ । कम्पनीले आगामी अक्टोबर २०२६ मा हुने पेरिस मोटर शोबाट स्मार्ट #2 सार्वजनिक गर्न लागेको हो ।
परीक्षणको क्रममा देखिएको स्मार्ट Smart #2 सानो सहर केन्द्रित कार हो । गाडीको सुरक्षा, स्थायित्व, आरामदायी ड्राइभिङ र समग्र गुणस्तर परीक्षण चलिरहेको अनुमान गरिएको छ ।
स्मार्टले परीक्षणका क्रममा प्रुभिङ ग्राउन्ड, विन्ड टनेल, ध्वनि परीक्षण कक्ष, तापक्रम नियन्त्रित परीक्षण केन्द्र तथा सार्वजनिक सडक प्रयोग गरिरहेको जनाएको छ। यस क्रममा आकस्मिक लेन परिवर्तन, भिजेको सडकमा सञ्चालन, आवाज, कम्पन, फुटपाथमा ठोक्किने अवस्था तथा गहिरा खाल्डाखुल्डीमा टिकाउपनको समेत परीक्षण भइरहेको कम्पनीले जनाएको छ ।
यसअघि गाडीलाई चीनको उत्तरपूर्वी क्षेत्रमा कठोर हिउँदमा समेत परीक्षण गरिएको कम्पनीले जनाएको छ । यद्यपि, परीक्षण कहाँ कहाँ भइरहेको छ भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
स्मार्ट #2 कम्पनीको नयाँ इलेक्ट्रीक कम्प्याक्ट आर्किटेक्चर प्लेटफर्ममा आधारित हुनेछ । यो दुई सीटर रियर ह्विल ड्राइभ ईभी हो । जसमा नयाँ पुस्ताको ट्रेडिसन सेफ्टी सेल प्रयोग गरिएको छ ।
कम्पनीका अनुसार अहिले सस्पेन्सन, स्टेयरिङ, चेसिसको मजबुती, संरचनागत तनाव तथा ड्राइभिङ सन्तुलनलाई अन्तिम रूप दिने काम भइरहेको छ ।
स्मार्टका ग्लोबल प्रमुख प्राविधिक अधिकृत याङ जुनले उत्पादन अघि गाडीको सुरक्षा, ड्राइभिङ स्थिरता र केबिनको आरामदायित्व सुनिश्चित गर्न यो परीक्षण कार्यक्रम सञ्चालन गरिएको बताए ।
कम्पनीले यसमा ३५.७ किलोवाट आवरको ब्याट्री दिने अपेक्षा गरिएको छ । जसको रेन्ज ३०० किलोमिटर माथि रहनेछ । फास्ट चार्जर सपोर्ट गर्ने यो सानो कारलाई १० देखि ८० प्रतिशत चार्ज २० मिनेट मात्रै लाग्नेछ ।


