काठमाडौ । दक्षिण कोरियाली अटोमोबाइल उत्पादक हुन्डाईको नयाँ अफरोड एसयूभी ‘बोल्डर’ भारतमा उत्पादन हुने भएको छ ।
कम्पनीले यसको डिजाइन पेटेन्ट भारतमा दर्ता गराएको हो । यससँगै हुन्डाईले भारतीय र दक्षिण एसियाली बजारमा आफ्नो पहिलो बडी अन फ्रेम विशेष अफरोड एसयूभी आउने सम्भावना बढाएको हो । यद्यपि, पेटेन्ट दर्ता गराएका सबै मोडल उत्पादनमा जाँदैनन् ।
पेटेन्ट दर्ता भएको एसयूभी बोल्डर नै हो भन्ने अझै आधिकारिक पुष्टि भइसकेको छैन । तर, दर्ता गरिएको पेटेन्ट यसै वर्षको सुरुमा सार्वजनिक गरिएको बोल्डर कन्सेप्टसँग एकदमै मिल्दोजुल्दो छ ।
यसको ठाडो बनावटलाई लगभग उस्तै राखिएको छ। पेटेन्टमा थेप्चो बोनेट, बक्सी आकारको बडी, विन्डस्क्रीन, स्क्वायर ह्वील आर्चर, बाक्लो बडी क्ल्याडिङ र अग्लो सिसाको भाग देखिन्छ। यसको अगाडिको भाग पनि कन्सेप्ट मोडलसँगै मिल्दो देखिन्छ । जसमा दुई भागको ग्रिल, मोर्स कोडबाट प्रेरित ‘एच’ आकारको लाइट, ठाडो रूपमा राखिएका हेडल्याम्प र अगाडि बलियो स्किड प्लेट कायमै राखिएको छ।

यो गाडी मस्कुलर देखिने सोल्डर लाइन र छोटा ओभरह्याङहरूलाई पनि जोगाएर राखिएको छ । पेटेन्टको रेखाचित्रमा कन्सेप्ट मोडलमा जस्तै ठूला ह्वील आर्चर, अग्लो राइड हाइट र सीधा छतको बनावट कायम छ । पछाडिको ढोकामा स्पेयर ह्वील छ । जुन बोल्डरको मुख्य पहिचान हो ।
कम्पनीले बोल्डर कन्सेप्टमा १८ इन्चको ह्वील दिएको छ । हुन्डाईका अन्य एसयूभीहरूभन्दा फरक यो गाडी कडा अफ रोड, सामान बोक्न र तान्ने क्षमताका लागि विशेष रूपमा विकसित गरिएको ल्याडर फ्रेम च्यासिसमा आधारित छ।
यसको भित्री भागमा ठूला फिजिकल बटनहरू, समात्नका लागि बलिया ह्यान्डलहरू, फोल्डिङ टेबल र सफ्टवेयरमा आधारित अफ रोड गाइड प्रणाली उपलब्ध हुनेछ ।
उच्च ग्राउण्ड क्लियरेन्स र उत्कृष्ट एप्रोचरडिपार्चर एङ्गलका साथ आउने यो एसयूभीमा आधुनिक अल ह्वील ड्राइभ प्रणाली रहनेछ।
हुन्डाईले सन् २०३० सम्म ७ नयाँ मोडलका गाडी सार्वजनिक गर्ने घोषणा गरेको छ । तीमध्ये बोल्डर पनि एक मोडल हुनसक्ने अनुमान छ ।
बोल्डरले भारतीय तथा अन्तर्राष्ट्रिय बजारमा पहिले नै लोकप्रिय रहेका महिन्द्रा थार रोक्स र फोर्स गुर्खा पाँच ढोका जस्ता अफ रोड एसयूभीलाई सीधा चुनौती दिनेछ ।


