काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा करिब १६ हजार कार नेपाल भित्रिएका छन् । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा कुल १५ हजार ८०६ युनिट कार, जीप, भ्यान आयात भएको हो । यो विद्युतीय र पेट्रोल कार दुवैको संख्या हो ।
अघिल्लो आव २०८१/८२ को तुलनामा गत आवमा समग्र कार आयातमा १०.८० प्रतिशत अर्थात् १९१४ युनिट कम भएको छ । अघिल्लो आवमा कुल १७ हजार ७२० युनिट कार आयात भएको थियो ।
गत आवमा कुल ३० अर्ब २४ करोड रुपैयाँ बराबरको कार आयात भएको हो । यसबाट सरकारले २६ अर्ब ६ करोड रुपैयाँ राजस्व पाएको छ । अघिल्लो आवमा कुल ३६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कार आयात भएको थियो ।
अघिल्लो आवमा ल्याएका कार स्टक हुँदा र अपेक्षित रूपमा बजार चलायमान हुन नसक्दा कार आयातमा असर परेको हो । अघिल्लो वर्ष कर बढ्ने हल्लाका कारण व्यवसायीले बजेट अघिको डेढ महिनामै करिब साढे ५ हजार कार ल्याएका थिए । ती कार स्टक रहँदा गत आवमा आयात प्रभावित बनेको हो ।
ईभी आयात घट्यो
गत आवमा विद्युतीय कार आयातमा ठूलो गिरावट आएको छ । अघिल्लो आवको तुलनामा गत आवमा ईभी आयात २०.११ प्रतिशतले घटेको छ ।
गत वर्ष कुल १० हजार ८४७ युनिट विद्युतीय कार, जीप, भ्यान आयात भएको छ । यो अघिल्लो आवको तुलनामा २ हजार ७३१ युनिट कम हो । अघिल्लो आवमा १३ हजार ५७८ युनिट ईभी कार आयात भएको थियो ।
गत आवमा कुल २५ अर्ब ५६ करोडको ईभी कार भित्रिएका छन् । जसबाट सरकारले १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व पाएको छ ।
गत आवमा ५० किलोवाटसम्मका ३६८० युनिट, ५१ देखि १०० किलोवाटसम्मका ६३५७, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ७९८ र २०१ किलोवाट माथिका १० युनिट ईभी भित्रिएक छन् । त्यस्तै, ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएको छ ।
पेट्रोल कार आयात भने बढ्यो
गत वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारमा भने वृद्धि देखिएको छ । गत आवमा कुल ४ हजार ९५९ युनिट पेट्रोल कार आयात भएको छ । यो अघिल्लो आवको तुलनामा १९.७२ प्रतिशत अर्थात् ८१७ युनिट धेरै हो । अघिल्लो आवमा कुल ४ हजार १४२ युनिट पेट्रोल कार आयात भएको थियो ।
पेट्रोल कार आयातमा हुन्डाईको वर्चश्व रहेको छ । गत आवमा कुल ४९५९ युनिट पेट्रोल कार आयात हुँदा २२८० युनिट अनएसेम्बल कार रहेको विभागको तथ्यांक छ ।
नेपालमा हाल हुन्डाईले मात्रै चारपाँग्रे सवारी एसेम्बल गर्ने भएकाले यो सबै कार उसकै हो । हुन्डाईले नेपालमा क्रेटा र भेन्यू उत्पादन गर्दै आएको छ ।


