गत आवमा ८ देशबाट ईभी आयात, कहाँबाट कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा विभिन्न ८ देशबाट नेपालमा विद्युतीय कार आयात गरिएको छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा एशिया, अमेरिका र युरोपियन देशबाट १० हजार ८४७ युनिट ईभी आयात गरिएको हो ।

विद्युतीय कार आयातमा चिनियाँ ब्राण्डको वर्चश्व रहेको छ । गत आवमा कुल ईभी आयातमा चीनबाट मात्रै ७०.५ प्रतिशत कार ल्याइएको छ । गत वर्ष चीनबाट १८ अर्ब ११ करोड रुपैयाँ बराबरको ७ हजार ६४८ युनिट ईभी कार आयात भएको छ ।

दोस्रो धेरै भारतबाट २ हजार ३३९ युनिट विद्युतीय कार आयात भएको छ । भारतबाट ४ अर्ब ८० करोड रुपैयाँ बराबरको ईभी कार आयात भएको हो ।

तेस्रो धेरै थाइल्याण्डबाट २ अर्ब ३६ करोड रुपैयाँ बराबरको ८२४ युनिट कार आयात भएको छ । पछिल्लो समय चिनियाँ ब्राण्डहरुले उत्पादन थालेसँगै थाइल्याण्डबाट नेपाल कार आउन थालेका हुन् ।

यी तीन बाहेक अन्य देशबाट भने न्यून संख्यामा ईभी आयात भएको छ । गत वर्ष जर्मनीबाट १४ युनिट, अमेरिकाबाट १२ युनिट, दक्षिण कोरियाबाट ८, वेलायत र अष्ट्रियाबाट १/१ युनिट ईभी आयात भएको विभागको तथ्यांक छ ।


Back_to_top