नेपालगंज रोडदेखि बनारससम्म रेलसेवा सुरू

काठमाडौं । नेपाल-भारत सीमानाका बाँकेको नेपालगन्ज रोडबाट भारतको अयोध्या, गोरखपुर र बनारस रेलसेवा सुरु भएको छ ।

सोमबार भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतका केन्द्रीय रेल मन्त्री अश्विनी बैष्णवले उक्त रेल सेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यससँगै नेपाल-भारत व्यापारमा नयाँ ढोका खोल्नुका साथै धार्मिक पर्यटनमा उल्लेख्य योगदान पुर्याउने अपेक्षा लिइएको छ । लामो समयको प्रतिक्षापछि संचालमा आएको सो रेल सेवाले नेपालबाट भारतको अयोध्या, गोरखपुर र बनारसम्म जाने नेपालीलाई सहज र छिटो भएको छ । त्यस्तै, भारतका विभिन्न ठाउँबाट नेपालगन्जको बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्वारी र कैलाश मानसरोवर जाने भारतीय तिर्थयात्रुलाई सहज हुने छ ।

भारतको रेल नम्बर १५१३२/१५१३१ वाराणसी सिटी-गोरखपुर-वाराणसी सिटी एक्सप्रेसको मार्ग अब नेपालगन्ज रोडसम्म बढाइएको छ। यो रेल वाराणसी सिटीबाट प्रस्थान गरी गोरखपुर, सिद्धार्थनगर, बढनी, बलरामपुर, गोन्डा र बहराइच हुँदै नेपालगन्ज रोडपुग्नेछ।

यो रेल दैनिक राति १०ः३५ बजे वाराणसी सिटीबाट छुट्नेछ। सारनाथ, औंरिहार, सादात, जखनियाँ, दुल्लाहपुर र मऊ हुँदै बिहान ४ः१० बजे गोरखपुर पुग्नेछ। त्यसपछि नकाहा जङ्गल, पिपीगन्ज, क्याम्पियरगन्ज र आनन्दनगर हुँदै सिद्धार्थनगर, शोहरतगढ र बढनी पुग्नेछ। त्यसपछि तुलसीपुर, बलरामपुर र गोन्डा हुँदै पयागपुर, बहराइच, रिसिया र नान्पारा भएर बिहान ११ः४५ बजे नेपालगन्ज रोड पुग्नेछ ।

नेपालगंज रोडबाट दिउँसो ४स्३० वाराणसीका लागि छुट्ने छ । वाराणसी सिटी-नेपालगन्ज रोड एक्सप्रेसमा कुल १८ वटा डिब्बा रहनेछन्।


Back_to_top