लयमा फर्कियो चिनियाँ अटो बजार, यस्तो छ अगष्टको बिक्री तथ्यांक

काठमाडौं । सन् २०२६ को सुरूवातदेखि नै ओरालो लागेको चिनियाँ अटो बजारमामा लगातार सुधार देखिन थालेको छ । लगातार ५ महिना घटेको चिनियाँ अटो बजार मे महिना यता क्रमशः सुधार देखिन थालेको हो ।

तीव्र प्रतिस्पर्धा र सरकारी नीतिका कारण सुस्ताएको चिनियाँ अटो बजार पछिल्लो महिनाहरूमा माग बढेसँगै सुधारोन्मुख देखिएको हो । घरेलु बजारसँगै अन्तर्राष्ट्रिय बजारमा विद्युतीय र हाइब्रिड सवारीको माग बढ्दा समग्र अटो बजारमा सुधार आएको हो ।

मंगलबार सार्वजनिक तथ्यांक अनुसार सन् २०२६ अगष्टमा अधिकांश मुख्य ब्राण्डहरूको बिक्रीमा वृद्धि भएको छ । लीपमोटर, एक्सपेङ लगायत ब्राण्डले बिक्रीमा रेकर्ड बनाएका छन् ।

यस्तो छ अगष्टमा मुख्य ब्राण्डको बिक्री

बीवाइडी : बीवाइडीको बिक्रीमा लगातार तेस्रो सुधार आएको छ । बीवाइडीले अगष्टमा सर्वाधिक ४ लाख ४० हजार २९३ एनईभीको थोक बिक्री गरेको छ । अगष्ट अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.८४ प्रतिशतले बढी हो । यो जुलाई महिनाको तुलनामा पनि ५.०३ प्रतिशत वृद्धि हो । कम्पनीले जुलाईमा ४ लाख ३ हजार गाडी बेचेको थियो ।

अगष्टमा बीवाइडीले ब्याट्री इलेक्ट्रीक भेहिकल बिक्री २ लाख ५६ हजार २३० युनिट र प्लग इन हाइब्रिड इलेक्ट्रीक भेहिकलको बिक्री १ लाख ७७ हजार १५४ युनिटमा पुगेको छ । बीवाइडीले यो वर्ष ८ महिनामा कुल २६ लाख ६८ हजार १५ युनिट बिक्री गरेको छ ।

जिली : जिलीले अगष्टमा कुल २ लाख ७० हजार १९४ युनिट गाडी बिक्री गरेको छ । यसको गत वर्ष सोही अवधिको तुलनामा ८ प्रतिशत धेरै हो । कम्पनीले यो वर्षको ८ महिनामा कुल १९ लाख ४३ हजार ३१३ युनिट गाडी डेलिभरी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ प्रतिशत धेरै हो ।

एसएआइसी जीएम वुलिङ : एसएआइसी जीएम वुलिङले अगष्टमा १ लाख ३० हजार ८७० युनिट गाडी डिेलिभरी गरेको छ । जुन गत वर्ष सोही अवधिको तुलनामा ४.५० प्रतिशत धेरै हो । गत वर्ष अगष्टमा १ लाख २५ हजार २२८ युनिट गाडी डेलिभरी गरेको थियो । अगष्टमा कम्पनीको मासिक वैदेशिक निर्यात ३० हजार युनिट बढी रहेको जनाएको छ । निर्यात गत वर्षको तुलनामा ५२।१ प्रतिशतले बढेको छ । कम्पनीले यो वर्षको ८ महिनामा कुल १६ लाख युनिट गाडी डेलिभरी गरेको हो ।

लीपमोटर : लीपमोटरले अगष्ट महिनामा विश्वभर १ लाख ३ हजार १२९ साधनहरू डेलिभरी गरेको छ । यो गत वर्षको तुलनामा ८०.७२ प्रतिशत धेरै हो । कम्पनीले लगातार दोस्रो महिना १ लाख माथि गाडी डेलिभरी गरेको हो ।

लीपमोटरले यो वर्षको ८ महिनामा कुल ५ लाख ६० हजार ८८३ युनिट डेलिभरी गरेको छ । जुन गत वर्षको सोही अवधिको तरलनामा ७०.५५ प्रतिशत बढी हो । कम्पनीले यो वर्ष १० लाख गाडी बिक्री गर्ने लक्ष्य राखेको छ । युरोपियन ब्राण्ड स्टेलान्टिसको प्रवेशपछि अटोमेकरले आक्रामक उत्पादन विस्तार मार्फत आफ्नो वृद्धिलाई निरन्तरता दिइरहेको छ ।

हिमा : हुवावेको हिमाले अगस्ट महिनामा ४२ हजार १०१ युनिट गाडी डेलिभरी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.५२ प्रतिशत धेरै हो । हिमाले यो वर्ष जनवरीदेखि अगस्टसम्म कुल ३ लाख २९ हजार ७३९ युनिट गाडी बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ११.४२ प्रतिशत ले बढी हो।

दीपल :  दीपलले अगष्टमा कुल २८ हजार ६५९ युनिट कार बिक्री गरेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १.५ प्रतिशत धेरै हो । कम्पनीले सन् २०२५ अगष्टमा २८ हजार २३५ युनिट कार बिक्री गरेको थियो । कम्पनीले सन् २०२६ को ८ महिनामा कुल २ लाख २२ हजार २८ युनिट कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७९ प्रतिशत धेरै हो ।

नियो : नियो इनकर्पोरेटेडले अगस्टमा ३५ हजार ८३६ युनिट गाडी डेलिभरी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.४७ प्रतिशतले बढी हो । तर, अघिल्लो महिनाको तुलनामा ०.२७ प्रतिशत ले कम हो ।

नियोले यो वर्ष लगातार चौथो महिना ३५ हजार बढी गाडी बिक्री गरेको हो । नियो मुख्य ब्राण्डले २१ हजार १७४ युनिट, अनभोले ८ हजार ८१० युनिट र फायरफ्लाइले ५ हजार ८५२ युनिट गाडी डेलिभरी गरेको हो ।

एक्सपेङ : एक्सपेङले अगस्टमा ३९ हजार १०७ युनिट गाडीहरू डेलिभरी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३.७१ प्रतिशत बढी हो । कम्पनीले अगष्टमा यो वर्षकै दोस्रो धेरै गाडी बिक्री गरेको हो । कम्पनीले जुन महिनामा सर्वाधिक ४० हजार १२६ डेलिभरी गरेको थियो । एक्सपेङले सन् २०२६ को ८ महिनामा कुल २ लाख ४३ हजार १११ युनिट गाडीहरू डेलिभरी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.४९ प्रतिशत कम हो ।

लि अटो : लि अटोले अगस्टमा ३७ हजार ६७९ युनिट गाडीहरू डेलिभरी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३२.०७ प्रतिशत बढी हो । यो २ वर्षमा कम्पनीको सबैभन्दा तीव्र वार्षिक वृद्धिदर पनि हो । लि अटोले पहिलो ८ महिनामा २ हजार ६१ हजार ६१९ युनिट गाडीहरू डेलिभरी गरेको छ ।

जिकर : जिकरले अगस्टमा ३६ हजार ९८१ युनिट गाडीहरू डेलिभरी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०९.८१ प्रतिशत धेरै हो । जिकरको यो वर्ष लगातार पाँचौं महिना बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । कम्पनीले यो वर्ष अगष्टसम्म कुल २ लाख ५१ हजार १८८ युनिट गाडीहरू डेलिभरी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १००.४० प्रतिशत धेरै हो ।

साओमी अटो : साओमी अटोले अगष्टमा कुल ३० हजार युनिट बढी गाडी डेलिभरी भएको बताएको छ । यद्यपि, मोडल अनुसार तथ्यांक खुलाएको छैन । साओमी अटोले यो वर्षको ८ महिनामा कुल २ लाख ४६ हजार ३२२ युनिट गाडी बिक्री गरेको छ ।

चांगान, डोङफेङ जस्ता प्रमुख ब्राण्डको भने याे समाचार प्रकाशन गर्दासम्म आधिकारिक तथ्यांक बाहिरिएको छैन ।


Back_to_top