काठमाडौं । नेपालमा यामाहा एक्सएसआर १५५ मोटरसाइकलमा उच्च आकर्षण देखिएको छ । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइड्स प्रालिले नाडा अटो शो २०२६ मा सार्वजनिक गरेको यो मोटरसाइलको उल्लेख्य बुकिङ पाएको हो ।
कम्पनीका अनुसार ६ दिनसम्म चलेको नाडा अटोमा एक्सएसआर १५५ मोटरसाइकल ४२८ जनाले बुकिङ गरेका हुन् । यामाहाले नाडा २०२६ मा ‘बेस्ट स्टल अवार्ड’ समेत जितेको छ ।
नवीन अवधारणा, आकर्षक प्रस्तुति र आगन्तुकलाई प्रदान गरिएको उत्कृष्ट अनुभवका लागि यामाहाको स्टललाई यो सम्मान प्रदान गरिएको हो । यामाहाको स्टलमा एक्सएसआर १५५ को विशिष्ट रेट्रो आधुनिक डिजाइनलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो ।
क्लासिक टियरड्रप फ्युल ट्याङ्क, गोलाकार एलईडी हेडलाइट, आकर्षक डिजाइन र सडकमा छुट्टै पहिचान बनाउने उपस्थितिले आगन्तुकको ध्यान खिचेको थियो । हजारौँ मोटरसाइकलप्रेमीले मेलाकै क्रममा एक्सएसआर १५५ लाई नजिकबाट हेर्ने र प्रत्यक्ष अनुभव गर्ने अवसर पाए ।
मोटरसाइकल लन्च कार्यक्रममा एमएडब्लू ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले पुस्तौँदेखि यामाहाले राइडरहरूसँग कायम राख्दै आएको भावनात्मक सम्बन्धबारे चर्चा गरेका थिए । उनले यामाहाको विश्वव्यापी फास्टर सन्स दर्शनबारे पनि जानकारी गराए ।

उनका अनुसार फास्टर सन्स यामाहाको विगतको गौरव र भविष्यको सम्भावनालाई जोड्ने दर्शन हो । प्रतिष्ठित पुराना मोटरसाइकलहरूबाट प्रेरणा लिँदै आधुनिक पुस्ताका राइडरका आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर नयाँ पुस्ताका मोटरसाइकल विकास गर्नु यसको मूल अवधारणा हो ।
‘आज हामी एउटा नयाँ मोटरसाइकललाई स्वागत गर्दैछौँ, तर योभन्दा पनि महत्त्वपूर्ण कुरा हामी एउटा विरासतलाई निरन्तरता दिइरहेका छौँ,’ उनले भने । उनले नेपालका आजका राइडरहरूका लागि मोटरसाइकल केवल आवागमनको साधन मात्र नभई आफ्नो पहिचान, व्यक्तित्व र जीवनशैली अभिव्यक्त गर्ने माध्यम बन्दै गएको बताए । एक्सएसआर १५५ ले नेपालको उत्साही राइडिङ समुदायसँग बलियो भावनात्मक सम्बन्ध स्थापित गर्ने विश्वास पनि उनले व्यक्त गरे ।
एक्सएसआर १५५ प्रति देखिएको उत्साहलाई कार्यक्रममा गरिएको विशेष प्रि-बुकिङले थप पुष्टि गरेको छ । प्रि-बुकिङमार्फत प्रारम्भिक खरिदकर्ताले नेपालमा एक्सएसआर १५५ का पहिलो चरणका ग्राहक बन्ने अवसर प्राप्त गरेका थिए । बजारमा मोटरसाइकलको नियमित बिक्री सुरु हुनुअघि नै आफ्नो बुकिङ सुरक्षित गर्न पाउने यो अवसरले एक्सएसआर १५५ प्रति ग्राहकको आकर्षणलाई थप बलियो बनाएको छ ।


