काठमाडौं । चिनियाँ ब्राण्डको भीडमा ‘आर्कफक्स’ नयाँ खेलाडीको रुपमा बजारमा आएको छ । साउन अन्तिममा नेपाल आएको आरफक्स टी-१ ले बजारमा राम्रै ‘इन्ट्री’ बनाउन सफल भएको हो ।
लक्ष्मी मोटरहबले नेपाल ल्याएको आर्कफक्स टी-१ निकै प्रतिस्पर्धी सेग्मेन्टमा आएको मोडल हो । कडा प्रतिस्पर्धी सेग्मेन्टमा आएको भएपनि यसले ग्राहकलाई तान्न थालेको कम्पनीको भनाइ छ ।
आर्कफक्सले आफ्नो उपस्थितिलाई बलियो बनाउने प्रयास थालेको छ । त्यसको लागि अटो शोमा बुकिङ गरेका ग्राहकलाई गाडी डेलिभरी दिन थालेको हो ।
‘हामीले गाडी डेलिभरी थालेका छौं । अहिले सीमित युनिट मात्रै आएको छ । अटो शोमा भएको बुकिङ अनुसारको डेलिभरी दशैं अगाडि ने गर्नेछौं’, लक्ष्मी मोटरहबका ब्राण्ड हेड आकाश बिक्रम थापाले मेरोअटोसँग भने ।
उनका अनुसार आर्कफक्सको मुख्य आकर्षण मूल्य हो । मूल्यसँगै टी-१ क्रसओभरको प्रिमियमनेस र कम्फर्ट अर्को महत्व पूर्ण बिषय हो । यसको सुरुवाती मूल्य ३२ लाख ९६ हजार र टप भेरियन्टको मूल्य ३५ लाख ९६ हजार तोकेर बिक्री सुरु भएको छ ।
आर्कफक्स टी-१ लाई धेरै बुकिङकर्ताले ‘भ्यालु फर मनी’ प्रोडक्ट भनेका छन् । अन्य प्रतिस्पर्धी मोडलसँग तुलना गर्दा आफूले पाउने फिचर, स्पेस, डिजाइन र ड्राइभिङ अनुभवका कारण ग्राहकले आर्कफक्सलाई मूल्यअनुसारको राम्रो उत्पादनका रूपमा लिएका छन् ।
प्रिमियम अनुभव
आर्कफक्समा ग्राहकले सबैभन्दा पहिले अनुभव गर्ने पक्ष यसको इन्टेरियर हो । ड्यासबोर्डको डिजाइन, सिटको कम्फर्ट, ठूलो इन्फोटेनमेन्ट स्क्रिन तथा समग्र क्याबिनको फिनिसिङले गाडीलाई मूल्यभन्दा माथिको अनुभव दिने बनाएको कम्पनीको भनाइ छ ।

विशेषगरी गाडीमा बसेपछि ग्राहकको धारणा परिवर्तन हुने गरेको शोरुमा भेटिने सेल्स टीमको दाबी छ । बाहिरबाट हेर्दा मूल्यलाई केन्द्रमा राखेर आर्कफक्स हेर्ने ग्राहकले टेस्ट ड्राइभपछि भने यसको प्रिमियम फिल, सिट कम्फर्ट र क्याबिन स्पेसलाई महत्व दिने गरेका छन् ।
यसको अर्थ आर्कफक्सले नेपाली बजारमा आफ्नो प्रतिस्पर्धात्मक आधार केवल ‘सस्तो ईभी’का रूपमा बनाउन खोजेको छैन । बरु प्रतिस्पर्धी मूल्यमा प्रिमियम अनुभव दिने एसयूभीका रूपमा आफ्नो पहिचान स्थापित गर्ने रणनीति लिएको देखिन्छ ।
ग्राहकले के हेर्छन् ?
पारिवारिक प्रयोग हुने भएको कारण पछाडिको सिट कम्फर्ट, अगाडिको सिट, लेगरुम, बुट स्पेस, हेडरुम जस्ता कुरामा ग्राहकले विशेष ध्यान दिन्छन् ।
अर्को आर्कफक्समा २७२० एमएम लामो ह्वीलबेस दिइएको छ । यसको प्रभाव विशेषगरी पछाडिका यात्रुले पाउने लेगरुम र समग्र यात्रा निकै आरामदायी हुन्छ । पछाडिको सिटमा ‘इन्क्लाइन’ सुविधा पाउन सकिन्छ ।

उपभोक्ताले ग्राउन्ड क्लियरेन्स पनि गाडी किन्नुअघि हेर्छन् । आरफक्स टी–१ मा ग्राउन्ड क्लियरेन्स १८१ एमएम छ । जुन हाईवे र मिश्रित सडकको लागि ठिकठाक हुन्छ ।
ब्याट्री साइज र रेन्ज
आर्कफक्समा ४२.३ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ । यसले डब्लूएलटीपी टेस्टका अनुसार सिंगल चार्जमा ३१० किलोमिटर रेन्ज दिन्छ ।
कम्पनीका अनुसार प्रति १०० किलोमिटर यात्रा गर्न करिब ११.२ किलोवाट आवर ऊर्जा खपत हुन्छ । जुन निकै किफायती हो ।
आर्कफक्स टी-१ मा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । फ्रन्ट ह्वील ड्राइभ टी-१ मा तौल वितरण निकै उत्कृष्ट भएको कारण ड्राइभिङ अनुभव पनि राम्रो पाउन सकिने कम्पनीको भनाइ छ ।

बजारमा ईभी खरिदकर्ताको चासो केवल रेन्जमा सीमित छैन । पावर, ड्राइभिङ कम्फर्ट, स्टेविलिटी र समग्र ड्राइभिङ अनुभवको महत्व बढेको छ । त्यसमा टी-१ उत्कृष्ट देखिएको कम्पनीको दावी छ ।
विश्वासको आधार
चिनियाँ विद्युतीय ब्रान्ड थपिँदै जाँदा ग्राहकको अर्को प्रश्न ब्रान्ड कति पुरानो र विश्वसनीय छ ? भन्ने हुन्छ । बीएआइसी ग्रुपको स्वामित्वमा रहेको आरफक्ससँग लामो औद्योगिक इतिहास छ ।
नेपालमा आयात गर्ने लक्ष्मी ग्रुप पनि अटोमोबाइल क्षेत्रमा बलियो समूह हो । उसले सर्भिस लगायतका क्षेत्रमा उल्लेखनिय काम गर्दै आएको छ ।
ग्राहकले नयाँ ब्रान्ड खरिद गर्दा भविष्यमा सर्भिस, पाट्र्स र रिसेल भ्यालू जस्ता कुरामा बुझ्छन् । लक्ष्मी ग्रुप जोडिएको कारण आर्कफक्सले ग्राहकको विश्वास जित्ने अनुमान छ ।


