सडक मर्मत गर्न सवा ३ करोड विनियोजन, ३ ठाउँमा बेलिब्रज जडान अघि बढ्यो

काठमाडौं । सडक विभागले भदौ १० गते भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको सडक यथाशीघ्र संचालनमा लागि ३ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विभागले गल्छी-बेत्रावती-सुवागढी र पृथ्वी राजमार्ग र्ममतका लागि उक्त रकम विनियोजन गरेर काम अघि बढाएको हो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक विजय जैसीले बाढीपहिरोले गल्छी-बेत्रावती-रसुवागढी र पृथ्वी राजमार्गको गल्छी-मुग्लिङ खण्डमा सबैभन्दा धेरै क्षति पुगेको जानकारी दिए ।

उनका अनुसार नुवाकोटको विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटरमध्ये ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ । त्यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा नदीले कटान गर्दा सडकमा ठूलो क्षति पुगेको उनले बताए ।

‘भोटेकोशी बाढीले विदुरदेखि रसुवागढीसम्मको ५६ किमी सकडमध्ये ४० किमी वास आउट गरेको छ । त्यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा कटान गरेको छ,’ उनले भने, ‘क्षतिग्रस्त सडक मर्मत गरी चाँडै संचालनमा ल्याउन लागिपरेका छौं ।’

बाढीले रसुवा, नुवाकोट र धादिङका ३१ वटा मोटरेबल पुलमा क्षति पुर्याएको उनले जानकारी दिए । तीमध्ये देवीघाट, त्रिशूली बजार र बेत्रावतीमा बेलिब्रिज जडान गर्न आवश्यक प्रक्रिया अघि बढाइसकिएको उनले बताए । साथै, क्षति पुगेको अन्य पुलको मर्मतका लागि प्राविधिक सर्वेक्षण भइरहेको उनको भनाइ छ ।

‘विभागले तत्कालका लागि तीन स्थानमा बेलिब्रिज जडानको प्रक्रिया सुरू गरिसकेको छ। देवीघाटस्थित तादी खोलामा ५० मिटर लामो बेलिब्रिज हाल्ने तयारी भइरहेको छ भने त्रिशूली बजार र बेत्रावतीमा पनि बेलिब्रिज जडानका लागि डिजाइन सम्पन्न भएको छ,’ उनले भने ।

उनले काठमाडौंबाट धुन्चे जानका लागि टोखा–छहरे–विदुर–बोगटीटार हुँदै ११० किलोमिटरको वैकल्पिक सडक प्रयोगमा ल्याइएको बताए । त्यस्तै, धादिङबेसी जोड्ने फुर्केखोलाको पुल भाँचिएपछि माल्टार, गजुरीटार र केउरिनीघाट हुँदै वैकल्पिक मार्गमार्फत सडक सम्पर्क स्थापित गरिएको जानकारी दिए ।

उनले कृष्णभीर सडक खुलाउने विषयमा छलफल भइरहेको बताए । उनले कृष्णभीरमा भित्तो काट्ने वा त्रिशूली पारिबाट नयाँ ट्रयाक खोल्ने भन्ने विषयमा नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श भइरहेको जानकारी दिए ।

हाल कार्यक्षेत्रमा ५० जनाभन्दा बढी वरिष्ठ प्राविधिक, इन्जिनियर र मेकानिक्सहरू खटिएका छन्। विभागले १५ वटाभन्दा बढी हेभी इक्विपमेन्टहरू विभिन्न खण्डमा परिचालन गरेको छ।


Back_to_top