जे-फाइभको मूल्य ७ लाख घट्दा ग्राहकले के पाए, के गुम्यो ?

काठमाडौं । नेपाली बजारमा आएदेखि नै ‘मिनी रेन्ज रोभर’ लुकका कारण चर्चा कमाएको इलेक्ट्रीक एसयूभी जेकाे जे-फाइभमा एकै पटक ७ लाख रुपैयाँ मूल्य कम भएको छ ।

नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नाडा अटो शोमा जे-फाइभ प्रो मोडलको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री थालेको हो । कम्पनीका अनुसार यो मूल्य पहिलो १०० जना ग्राहकले मात्र पाउने छन् ।

नयाँ प्रो मोडलको सबैभन्दा ठूलो आकर्षण यसको मूल्य हो । यसअघि ५४ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको जे-फाइभभन्दा नयाँ प्रो भेरियन्ट ७ लाख रुपैयाँ मूल्य कम भएर आएको हो । सुरूवाती १०० ग्राहकपछि भने प्रो मोडलको मूल्य ५१ लाख ५९ हजार हुनेछ ।

जेको जे-फाइभको मूल्य घट्नुको पछाडि मुख्य कारण ब्याट्रीको साइज घट्नु हो । कम्पनीले पहिलेकोभन्दा सानो ब्याट्रीमा प्रो मोडल ल्याएको हो ।

ब्याट्री सानो, घट्यो मूल्य

यसअघि नेपालमा बिक्री हुँदै आएको जे-फाइभमा ५८.९ किलोवाट आवरको ब्याट्री प्याक थियो । नयाँ जे-फाइभ प्रोमा भने ५०.७ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यहाँ ८ किलोवाटभन्दा केही बढी ब्याट्री साइज घटेको छ ।

जेको जे-फाइभ प्रो भेरियन्टलाई कम्पनीले अधिक रेन्जभन्दा पनि कम मूल्यमा प्रिमियम इलेक्ट्रीक एसयूभी उपलब्ध गराउने रणनीति अनुसार बजारमा उतारेको देखिन्छ ।

पावरमा छैन परिवर्तन

ब्याट्री सानो भए पनि जे-फाइभ प्रोको मोटर क्षमतामा भने घटाइएको छैन । यसमा १५५ किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । जसले अधिकतम २८८ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

यो इलेक्ट्रीक मोटरले जे-फाइभ प्रोलाई डिजाइन र फिचरका आधारमा आकर्षक मात्र होइन पावरका हिसाबले बलियो इलेक्ट्रीक एसयूभी बनाएको छ ।

प्रिमियम देखिने क्याबिन

बाहिरी डिजाइनका आधारमा मिनी रेन्जरोभर देखिने जे-फाइभको क्याबिन पनि उत्कृष्ट छ । ड्यासबोर्डमा ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १३.२ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

त्यस्तै पानोरामिक ग्लास रूफ, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ५० वाटको वायरलेस मोबाइल चार्जिङ, डुअल-जोन क्लाइमेट कन्ट्रोल, फ्रन्ट सिट भेन्टिलेसन, पावर टेलगेट र ३६० डिग्री क्यामेरा जस्ता फिचरले यसलाई आफ्नो मूल्य समूहमा प्रिमियम प्याकेजका रूपमा प्रस्तुत गरेको छ ।

विशेषगरी फ्रन्ट सिट भेन्टिलेसन, पानोरामिक रूफ र ३६० डिग्री क्यामेरा जस्ता फिचरले दैनिक प्रयोगमा यसको कम्फर्ट र सहजता बढाउँछन् ।

सुरक्षामा पनि बलियो प्याकेज

जे-फाइभ प्रोको अर्को महत्वपूर्ण पक्ष यसको सुरक्षा फिचर हो । यसमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ब्रेक असिस्ट र अटो होल्डसँगै एडभान्स्ड ड्राइभिङ असिस्टेन्स सिस्टम (एडास) पाउन सकिन्छ ।

एडास भित्रका फरवार्ड कोलिजन वार्निङ, अटोमेटीक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट मोनिटरिङ तथा रियर क्रस ट्राफिक अलर्टजस्ता फिचर सुरक्षाको हिसाबले अब्बल बनाएको छ ।

नेपालका सडक सुहाउँदो छ ?

नेपालको खराब सडकको लागि यो एसयूभी कस्तो छ भन्ने धेरैको चासो सुनिन्छ । यसका १८५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । यसले सामान्य शहरी सडकदेखि केही खराब तथा उवाडखावड सडकमा समेत चालकलाई आत्मविश्वास दिन सक्छ । त्यसमा पनि फुल साइज स्पेयर टायर उपलब्ध भएकाले टायर पन्चर हुँदा तत्काल टायर मर्मत वा प्रतिस्थापनको सुविधा नपाइने स्थानमा उपयोगी हुन्छ ।

११ वर्ष वारेन्टी

नयाँ जे-फाइभ प्रोको अर्को महत्वपूर्ण पक्ष यसको वारेन्टी अवधि हो । कम्पनीले यसमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी दिएको छ ।

निष्कर्ष

जेको जे-फाइभ प्रोले नेपाली बजारमा आफूलाई डिजाइन, पावर, फिचर र सुरक्षा केन्द्रित प्रिमियम कम्प्याक्ट इलेक्ट्रीक एसयूभीका रूपमा चिनाएको छ । त्यसमा निकै राम्रो मूल्य यसको बलियो पक्ष हो ।

दैनिक प्रयोगमा पर्याप्त रेन्ज, आकर्षक डिजाइन, शक्तिशाली मोटर र धेरै फिचर चाहने ग्राहकका लागि नयाँ जे-फाइभ प्रो बढी व्यावहारिक विकल्प बन्न सक्छ ।


Back_to_top