काठमाडौं । सरकारले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर सडकखण्डको समस्या समाधान गर्न दीर्घकालीन योजना अघि बढाउने भएको छ ।
पूूर्वाधार विकास मन्त्रालयको मंगलबार साँझ बसेको बैठकले कृष्णभीरको विकल्पमा सुरुङमार्ग वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले कृष्णभीरको समस्या समाधानका लागि विभिन्न पाँच बुँदे निर्णय गरेको छ । कृष्णभीरको समस्यालाई जरैदेखि समाधान गर्न सडक विभागले सुरुङ, सोइल नेलिङ र सिट पाइल जस्ता आधुनिक विकल्पहरूको प्राविधिक अध्ययन गर्ने जनाएको छ ।
यसका लागि नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूको सेवा लिइने र आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गरिने निर्णय भएको छ ।
मन्त्रालयका अनुसार तत्काल विपद्को सामना गर्न तथा विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’माथिबाट सवारीसाधन संचालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाइने छ ।
त्यस्तै, नयाँ ट्रयाक खोल्ने कार्यसँगै सुरक्षाका लागि सेक्रिफिसियल ग्याबियन बक्स र बोल्डरहरू पहाडको माथिल्लो भागबाट तल खसाल्ने कार्यलाई पनि सँगसँगै अघि बढाइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पृथ्वी राजमार्गलाई निर्वाध रूपमा संचालन गर्न यी निर्णयहरू तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ । त्रिशूली नदीमा आएको बाढीले भित्तो कटान गर्दा कृष्णभीरमा पूरै सडक खसेपछि आइतबारदेखि सवारी आवतजावत ठप्प छ ।


