चितवन । नारायणगढ-मुग्लिङ सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ ।
तुइनखोला क्षेत्रमा पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द हुनेछ ।
तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
डिभिजनका अनुसार ठूला ढुंगा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ । त्यस्तै, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ र बायोइन्जिनियरिङ प्रयोग गरिने कार्यालयले जनाएको छ ।

