सडक भासिएपछि सार्वजनिक सवारीका लागि नागढुंगा सुरुङमार्ग खुला

काठमाडौं । नागढुंगा चेकपोस्टबाट करिब ७०० मिटर अगाडि पातले वनमा सडक भासिएपछि सार्वजनिक सवारीका लागि पनि नागढुंगा सुरुङमार्ग खुला गरिएको छ ।

सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकल बाहेक अरू सबै सवारीका लागि सुरुङमार्ग बाट आवतजावत गर्ने व्यवस्था मिलाइएको हो ।

सडक विभागका अनुसार पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने सोही सडकबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको छ ।

परीक्षण चरणमै रहेकाले सुरुङमार्ग यसअघि आपतकालीन सेवाका र ९ सिटसम्मका निजी सवारीका लागि मात्र खुला गरिएको थियो ।

सडक भासिएपछि काठमाडौंबाट भित्रिने र बाहिरिने सवारीको लामो लाइन लागेको थियो । अहिले सुरुङमार्गबाट आउजाउ गरिरहेका छन् ।

सडक भासिएको जानकारी पाउनासाथ विभागको प्राविधिक टोली निरीक्षणका लागि घटनास्थलमा पुगिसकेको छ । उक्त स्थानको
प्राविधिक अध्ययनपछि मात्र मर्मत सुरू गरी पूर्ण रूपमा सवारी संचालनमा ल्याउने बारे छलफल भइरहेको विभागले जनाएको छ ।


Back_to_top