काठमाडौं । संघीय राजधानी काठमाडौंबाट पूर्वी तराई जोड्ने सबैभन्दा छोटो दुरीको बीपी राजमार्गमा सवारी साधन संचालनका लागि छुट्टाछुट्टै समय सीमा तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गमा सवारी दुर्घटना, ट्राफिक जाम न्यूनीकरण गर्न र राहत सामाग्री ढुवानीलाई सहज बनाउन सवारी साधन संचालन गर्ने समय तोकेको हो ।
प्रशासनले निजी तथा सार्वजनिक र मालवाहक तथा ढुवानीका सवारीका लागि फरक फरक समय तोकेको हो । प्रशासनका अनुसार निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनले बिहान ४ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र बीपी राजमार्ग हुँदै आवतजावत गर्न पाउनेछन् ।
त्यस्तै, मालवाहक तथा ढुवानीका सवारीसाधनले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म संचालन अनुमति पाउनेछन् । राजमार्गको भौतिक अवस्था र सडक सुरक्षालाई ध्यानमा राख्दै १० टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधन संचालनमा रोक लगाइएको छ । तोकिएको सीमाभन्दा बढी भार बोक्ने मालवाहक तथा ढुवानीका साधनलाई उक्त मार्ग प्रयोग गर्न नदिइने प्रशासनले जनाएको छ ।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पृथ्वी राजमार्ग अबरुद्ध भएकाले बीपी राजमार्गमा सवारी साधनको चाप बढेको छ।


