काठमाडौं । अहिले नेपाली ईभी बजारमा ब्राण्डिङ र आक्रमक बजार बिस्तारमा अब्बल देखिएका दुई चिनियाँ ब्राण्ड बीच पहिलो पटक आमनेसामने भएर प्रतिस्पर्धा सुरु भएको छ ।
विश्वब्यापी चर्चामा रहेको बीवाइडी र न्यू इनर्जी भेहिकलमा बलियो पकड बनाउँदै गएको चांगान ग्रुपको उत्पादन बीच नेपालमा कडा प्रतिस्पर्धा सुरू भएको छ । अहिले यी दुई ब्राण्ड बीच ‘प्रोडक्ट टु प्रोडक्ट’ प्रतिस्पर्धा देखिएको हाे ।
मूल्यका हिसाबले यी दुई ब्राण्डले बिक्री गर्ने एसयूभी बीच कडा प्रतिस्पर्धा देखिएको हो । बीवाइडीको सफल एसयूभी एटो-२ सँग प्रतिस्पर्धा गर्ने मूल्य र फिचरको साथ चांगान ग्रुपको नेभो क्यू-०५ मोडल बजारमा आएसँगै धेरैले यी दुई बीचका भिन्नता खोजिरहेका छन् ।
बीवाइडी एटो-२ तीन भेरियन्टमा बजारमा बिक्री हुँदै आएको छ । साइमेक्स इंक प्रालिले एटो-२ इसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ तोकेको छ । त्यस्तै प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र सुपेरियर भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ छ ।
नेभो क्यू-०५ दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीले म्याक्स र अल्ट्रा गरी दुई भेरियन्ट उपलब्ध गराएको हो । एमएडब्लू वृद्धिले म्याक्स भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । तर, कम्पनीले सुरूवाती ग्राहकलाई दुवै भेरियन्टमा २ लाख रुपैयाँको दरले छुट प्रदान गरेको छ । यसरी छुट रकम सहित हेर्दा एटो-२ को तुलनामा टप भेरियन्ट निभो क्यू-०५ सस्तो देखिन्छ ।
मूल्य बाहेक यी दुई गाडीमा रहेका भिन्नतालाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

साइजमा फरक
दुई एसयूभीको पहिलो फरक साइजमा देखिन्छ । बीवाइडी एटो-२ को लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
नेभो क्यू-०५ को लम्बाइ ४४३५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १६०० एमएम छ । यसको ह्वीलबेस २७३५ एमएम लामो छ । नेभो क्यू-०५ एटो २ भन्दा १२५ एमएम लामो छ भने ह्वीलबेस पनि ११५ एमएम बढी छ ।ह्वीलबेसको यो अन्तरले क्यू-०५ को पछाडिको सिटमा बढी लेग स्पेस पाउन सकिन्छ ।

बीवाइडी एटो-२ को उचाइ बढी छ । अझ महत्वपूर्ण कुरा, यसको ग्राउण्ड क्लियरेन्स २०० एमएम छ । जबकि नेभो क्यू-०५ मा १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ ।
समग्रमा साइज र क्याबिन स्पेसमा क्यू-०५ अगाडि देखिन्छ । उचाइ र ग्राउण्ड क्लियरेन्समा एटो-२ प्रस्ट विजेता हो ।
मोटर पावर र पर्फमेन्स
पर्फमेन्सको हिसाबले हेर्दा नेभो क्यू-०५ बीवाइडी एटो-२ भन्दा शक्तिशाली देखिन्छ । एटो-२ मा १०० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर पाउन सकिन्छ । यसले २९० एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड ९ सेकेण्डमा भेट्टाउने छ ।

नेभो क्यू-०५ मा भने १२० किलोवाट मोटर दिइएको छ । यसको शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको एक्सेलेरेसन समय ८.२ सेकेण्ड मात्रै छ ।
ब्याट्री क्षमता लगभग उस्तै
मूल्य जस्तै यी दुई मोडलमा ब्याट्री क्षमता पनि उस्तै छ । बीवाइडी एटो-२ प्रिमियममा ५१.१३ किलोवाट आवरको ब्लेड ब्याट्री छ । नेभो क्यू-०५ मा ५१.९ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ ।
बीवाइडी एटो-२ मा ‘सेल-टु-बडी’ प्रविधिले ब्याट्रीलाई संरचनात्मक डिजाइनसँग जोड्ने काम गर्छ । क्यू-०५ मा भएको एलएफपी ब्याट्री पनि सुरक्षा, लागत र ब्याट्री लाइफको हिसाबले उत्कृष्ट मानिन्छ ।
रेन्जको कुरा गर्दा बीवाइडी एटो-२ प्रिमियम र सुपेरियरले सिंगल चार्जमा ३४५ किलोमिटर दिने डब्लूएलटीपी टेस्टले देखाएको छ । नेभो क्यू-०५ ले ३६० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीको टेस्ट रिपोर्टमा देखिन्छ ।

वास्तविक नेपाली सडकमा एउटै परिस्थितिमा परीक्षण गर्न पाइएको छैन । त्यसले ठ्याक्कै कुन अगाडि भन्न सकिँदैन ।
चार्जिङ क्षमतामा फरक
चार्जिङ क्षमतामा पनि दुई गाडीमा फरक देखिन्छ । एटो-२ ले ११ किलोवाटसम्मको एसी र ८२ किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ । नेभो क्यू-०५ ले १६२ किलोवाटसम्मको डीसी र ७ किलोवाटसम्मको एसी चार्जर सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।
बुट स्पेस
पारिवारिक प्रयोगका हिसाबले क्यू-०५ को अर्को महत्वपूर्ण फाइदा यसको बुट स्पेस हो । एटो-२ मा न्यूनतम ३८० लिटर लगेज क्षमता छ । पछाडिको सिट फोल्ड गर्दा यसलाई १३२० लिटरसम्म बढाउन सकिन्छ ।
नेभो क्यू-०५ मा ५४० लिटर बुट स्पेस उपलब्ध छ । सामान्य अवस्थामा नै १६० लिटर बढी लगेज क्षमता हुनु पारिवारिक ग्राहकका लागि ठूलो अन्तर हो ।

सस्पेन्सनमा समानता
दुवै गाडीको सस्पेन्सन सेटअप भने लगभग समान छ ।
एटो-२ र क्यू-०५ दुवै गाडीमा अगाडि म्याकफर्सन स्ट्रट र पछाडि टोर्सन बिम सस्पेन्सन प्रयोग गरिएको छ । कम्पनीले यसमा थोरै आफ्नो हिसाबले ट्युन गरेको हुनसक्छ । कम्पनीले गर्ने सस्पेन्सन ट्युनिङ, गाडीको तौल, टायर र च्यासिस सेटअपले पर्फमेन्समा ठूलो भूमिका खेल्छ ।
एडास भित्रका फिचर
एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) अहिले आधुनिक ईभी बजारको महत्वपूर्ण फिचर बनेको छ ।
एटो २ मा एडाप्टिभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, ट्राफिक साइन रिकग्निसन, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम असिस्ट र अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर छन् ।

यसका साथै ३६० डिग्री क्यामेरा, अगाडि र पछाडि पार्किङ राडार, टीपीएमएस तथा विभिन्न इलेक्ट्रोनिक सुरक्षा प्रणाली पनि पाउन सकिन्छ ।
क्यू-०५ को टप भेरियन्टमा ब्लाइन्ड स्पट डिटेक्सन, रियर क्रस ट्राफिक अलर्ट, रियर क्रस ट्राफिक ब्रेकिङ, लेन चेन्ज असिस्ट, सेफ एक्जिट वार्निङ, हाई बिम असिस्ट र सेफ डिस्टेन्स वार्निङ जस्ता थप फिचर छन् । यसरी हेर्दा एडास भित्रका फिचरमा क्यू-०५ बलियो देखिन्छ ।
इन्टेरियरमा फरक आकर्षण
एटो-२ र क्यू-०५ दुवै आधुनिक डिजिटल क्याबिन भएका गाडी हुन् । एटो-२ मा १२.८ इन्चको रोटेटिङ टचस्क्रीन दिइएको छ । बीवाइडीको रोटेटिङ स्क्रीन डिजाइन यस ब्राण्डको छुट्टै पहिचान बनेको छ ।
यसमा ८.८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ८ स्पिकर, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, वायरलेस फोन चार्जिङ, भेन्टिलेटेड अगाडिको सिट र इलेक्ट्रिक टेलगेट जस्ता फिचर उपलब्ध छन् ।
क्यू-०५ मा १४.६ इन्चको ठूलो टचस्क्रीन र १०.१७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ । यसमा २५६ कलर एम्बियन्ट लाइट, स्मार्टफोन रिमोट कन्ट्रोल, ओटीए अपडेट, वायरलेस फोन चार्जिङ तथा विभिन्न स्मार्ट सिनारियो मोड उपलब्ध छन् ।


