निकै ठूलो ब्याट्रीमा आयो रेन्ज रोभर ईभी, १० मिनेटमा २२० किमी रेन्ज

काठमाडौं । प्रसिद्ध लक्जरी ब्राण्ड ज्यागुअर ल्याण्ड रोभर (जेएलआर)ले आफ्नो पहिलो प्योर इलेक्ट्रीक रेन्ज रोभर आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो परम्परागत लक्जरी र उत्कृष्ट अफरोड क्षमतालाई अल इलेक्ट्रिक पावरट्रेनमा जोड्दै आफ्नो पहिलो ईभी ल्याएको हो ।

यो लग्जरी एसयूभी ब्राण्डका लागि एउटा ठूलो र ऐतिहासिक कदम मानिएको हो । कम्पनीले यसको मूल्य नतोकी बुकिङ समेत खुलाएको छ । गाडी डेलिभरीको मिति भने घोषणा गरेको छैन।

रेन्ज रोभरको ईभीमा ११८.५ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ । जसले एकपटकको फुलचार्जमा ६०० किमीसम्मको डब्ल्ूएलटीपी रेन्ज दिने दाबी गरिएको छ ।

८०० भोल्ट आर्किटेक्चरमा बनेको यो एसयूभीले ३५० किलोवाट सम्मको डीसी फास्ट चार्जिङलाई सपोर्ट गर्छ। जसबाट यसको ब्याट्री केबल २२ मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कम्पनीका अनुसार १० मिनेटको द्रुत चार्जले लगभग २२० किमीको रेन्ज थप्न सक्छ ।

रेन्ज रोभर ईभीमा अल ह्वील ड्राइभसहितको डुअल मोटर सेटअप प्रयोग गरिएको छ। यसको इलेक्ट्रीक पावरट्रेनले ५४३ ब्रेक हर्षपावर र ८५० न्युटन मिटर टर्क प्रदान गर्छ । जसले आराम र अफ रोड ड्राइभिङमा ध्यान केन्द्रित गर्दै एसयूभीलाई दमदार परफर्मेन्स प्रदान गर्छ।

जेएलआरका अनुसार यो एसयूभीले लगभग ४.५ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति लिन सक्छ। प्योर इलेक्ट्रिक भए तापनि नयाँ रेन्ज रोभरलाई ब्राण्डको अफरोड क्षमता कायम राख्न विकसित गरिएको छ। यो ९०० एमएमसम्म गहिरो पानीमा चल्न सक्छ । यसमा उन्नत अल ह्वील ड्राइभ प्रणाली छ । इलेक्ट्रीक पावरट्रेनले प्रत्येक पाँग्रामा टर्कको अझ सटिक नियन्त्रण गर्न अनुमति दिन्छ । जसले एसयूभीलाई कम गतिमा कठिन सतहहरू पार गर्न मद्दत गर्दछ।

रेन्ज रोभर इलेक्ट्रीकले ब्राण्डबाट अपेक्षा गरिए बमोजिमको प्रिमियम क्याबिन कायम राखेको छ । जसमा ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल डिस्प्ले र उच्च गुणस्तरका सामग्रीहरू छन् । इलेक्ट्रीक पावरट्रेनले इन्जिनको आवाजलाई अझ कम गर्ने भएकाले यो एसयूभीमा शान्त क्याबिन पनि पाइन्छ।

इलेक्ट्रीक रेन्ज रोभर प्रिमियम इलेक्ट्रीक एसयूभी सेग्मेन्टमा मर्सिडिज बेन्ज ईक्यूएस, बीएमडब्लू आइएक्स, भोलभो ईएक्स ९० जस्ता मोडलहरूसँग प्रतिस्पर्धा गर्नेछ।


Back_to_top