काठमाडौं । ग्रिभ्स इलेक्ट्रीक मोबिलिटीको दुईपाँग्रे ब्राण्ड एम्पियरले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल ‘साइबर’ भारतमा पेटेन्ट गराएको छ । कम्पनीले पहिलोपटक भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा कन्सेप्टका रूपमा सार्वजनिक गरेको साइबरको निर्माण प्रक्रिया अघि बढाएको हो ।
पेटेन्ट गरिएको डिजाइन भारत मोबिलिटी ग्लोबल एक्स्पोमा देखाएको कन्सेप्ट मोडलसँग निकै मिल्दोजुल्दो छ । साइबरमा फ्युचरिस्टिक स्ट्रीट-नेकेड डिजाइन, एलईडी हेडलाइट, अलोय ह्वील, अगाडि-पछाडि डिस्क ब्रेक तथा प्रिमियम यूएसडी फोर्क र मोनोशक जस्ता फिचर देख्न सकिन्छ ।
कम्पनीले यसमा १० किलोवाटको इलेक्ट्रीक मोटर प्रयोग गर्ने अनुमान गरिएको छ । जुन कन्सेप्ट मोडलमा थियो । उक्त मोटरको टप स्पीड १०० किलोमिटर प्रतिघण्टासम्म रहने दाबी गरिएको छ ।
साथै, यसमा एलएफपी ब्याट्री तथा एसी र डीसी फास्ट चार्जिङ सपोर्ट रहने अपेक्षा गरिएको छ । ठूलो ब्याट्री प्याकसँगै यसले एकपटकको फुलचार्जमा २०० किलोमिटरसम्म रेन्ज दिने बताइएको छ ।
मोटरसाइकलमा ब्लुटुथ कनेक्टिभिटी र गुगल म्याप्स सपोर्ट गर्ने टीएफटी डिस्प्ले हुनेछ । एम्पियरले साइबरको लन्च मिति र अन्य जानकारी भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।


