काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक चेरीले सन् २०२७ सम्ममा आफ्नो अल सोलिड स्टेट ब्याट्रीको गाडीमा वास्तविक परीक्षण सुरू गर्ने घोषणा गरेको छ ।
चेरीका कम्पनीका अध्यक्ष यिन तोङयुएले सिचुआन प्रान्तको यिबिनमा आयोजित २०२६ वल्र्ड पावर ब्याट्री कन्फरेन्समा यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार चेरीको ‘राइनो ब्याट्री’ शृङ्खलामा हाइब्रिड, ब्याट्री इलेक्ट्रीक भहिकल र सोलिड स्टेट प्रयोजनका लागि ३ वटा सिरिज समावेश छन् । यसको सोलिड स्टेट सेलले ४०० वाटआवर/प्रति किलोग्रामको ऊर्जा घनत्व प्राप्त गरेको उनले जानकारी दिए ।
चेरीले राइनो ब्याट्रीको सोलिड लिक्विड हाइब्रिड संस्करण २०२६ को चौथो त्रैमासिकमा गाडीहरूमा जडान गर्ने तालिका छ । त्यसपछि सन् २०२७ मा अल सोलिड स्टेट ब्याट्रीको गाडीमा परीक्षण सुरू हुनेछ।
चेरीले गत मार्चमा आफ्नो राइनो एस सिरिजमा सार्वजनिक गर्दै ४०० वाटआवर/केजी ऊर्जा घनत्व भएको ६० एम्पियर आवर सोलिड स्टेट सेल समावेश रहेको बताएको थियो । यो सेलले सल्फाइडमा आधारित सोलिड इलेक्ट्रोलाइट र हाइ निकल टर्नरी क्याथोडको प्रयोग गर्छ। अल सोलिड स्टेट ब्याट्रीको व्यावसायिक उत्पादनतर्फ चेरीका लागि यो प्रमुख प्रविधि मार्गहरूमध्ये एक हो ।
कम्पनीले मार्चमा ६०० वाटआवर/केजी ऊर्जा घनत्व भएको पोलिमरमा आधारित सोलिड स्टेट सेल पनि प्रदर्शन गरेको थियो । यसले १,५०० किलोमिटरभन्दा बढीको रेन्ज दिन सक्ने बताइएको थियो।
तथापि, सोलिड स्टेट ब्याट्रीको सामूहिक उत्पादनमा अझै पनि लागत, विश्वसनीयता र उत्पादन क्षमता जस्ता चुनौतीहरू कायम छन्। चेरीले धेरै ब्याट्री समाधानहरूलाई एकसाथ अघि बढाउने अध्यक्ष यिनले बताए । तर सुरक्षा आवश्यकताहरू पूरा नगरेसम्म कुनै पनि प्रविधि गाडीमा प्रयोग नगर्ने उनको भनाइ छ ।
सीएटीएलकाका अध्यक्ष रोबिन जोङले जुन महिनामा सोलिड स्टेट ब्याट्री प्रविधिलाई १ देखि ९ को स्तरमा मापन गर्ने हो भने अहिलेको प्रगति लेभल ४ मा मात्र रहेको बताए । उनले लेभल ९ ले मात्र सामूहिक उत्पादनको तयारीलाई जनाउने बताएका थिए।
सीएटीएल र बीवाइडी दुवैले सन् २०२७ सम्ममा गाडीहरूमा अल सोलिड स्टेट ब्याट्रीको सानो परिमाणमा प्रयोग गर्ने लक्ष्य राखेका छन् । जिली अटोले गत जनवरीमा सन् २०२६ मा आफ्नै आन्तरिक प्रविधिबाट पहिलो अल सोलिड स्टेट ब्याट्री प्याक तयार गरी गाडीमा परीक्षण गर्ने योजना रहेको बताएको थियो।
डोङफेङ मोटरले सन् २०२७ मा आफ्नै प्रविधिमा निर्मित सोलिड स्टेट ब्याट्री जडित ५० हजार गाडीहरू डेलिभरी गर्ने योजना बनाएको छ।


