काठमाडौं । हिरोको फ्ल्यागसिप मोटरसाइकल माभ्रिक ४४० नयाँ डिजाइनसहित बजारमा कमब्याक गर्ने भएको छ ।
भारतमा २०२५ को सुरूदेखि बिक्री तथा उत्पादन बन्द भएकोे हिरो माभ्रिक मोटरसाइकल नयाँ अवतार र फिचरसहित बजारमा आउने भएको हो ।
हिरो माभ्रिकको नयाँ मोडल परीक्षण तथा उत्पादन तयारीको चरणमा देखिएको हो । माभ्रिक ४४० को नयाँ संस्करणमा सबैभन्दा ठूलो परिवर्तन अपसाइड-डाउन यूएसडी फ्रन्ट फोर्क र टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसअघि मोटरसाइकलमा परम्परागत टेलिस्कोपिक फोर्क र एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर प्रयोग गरिएको थियो ।
माभ्रिकमा प्रयोग गरिएको नयाँ टीएफटी क्लस्टर हार्ले ४४० टीमा प्रयोग गरिएको युनिटसँग मिल्दोजुल्दो हुने अनुमान गरिएको छ । साथै, यसमा राइड मोड र ट्र्याक्सन कन्ट्रोल पनि थपिने बताइएको छ ।
अपडेटेड माभ्रिक ४४० मा पहिले प्रयोग गरिएको ४४० सीसी एयर तथा आयल-कुल्ड सिंगल-सिलिण्डर इन्जिन नै निरन्तरता पाउने अपेक्षा गरिएको छ । उक्त इन्जिनले २७ एचपी पावर र ३८ एनएम टर्क उत्पादन गर्छ ।
नयाँ फोर्क र टीएफटी क्लस्टरबाहेक मोटरसाइकलको मूल डिजाइन तथा इन्जिन प्लेटफर्मलाई नै निरन्तरता दिने सम्भावना छ । माभ्रिक भारतमा बन्द भए पनि यही प्लेटफर्ममा आधारित हिरो हंक ४४० विदेशी बजारमा बिक्री हुँदै आएको छ । नयाँ अपडेटसहित देखिएको माभ्रिक भारतमा पुनः बिक्रीमा ल्याउनेभन्दा निर्यात बजारका लागि तयार गरिएको मोडल हुन सक्ने रिपोर्टमा उल्लेख गरिएको छ ।


